निर्वाचन आयोगको यस्तो निर्णय: चुनावी प्रचारमा घण्टी बजाउन नपाइने
काठमाडौं,फागुन ११ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा कार्यकर्ताले अब बजार र टोलमा चुनावी प्रचारका क्रममा घण्टी बजाउन नपाउने भएका छन्। निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसार गर्दा निर्वाचन चिह्नको भौतिक स्वरूप प्रयोग नगर्न/नगराउन निर्देशन दिँदै विज्ञप्ति जारी गरेको हो।
यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले रास्वपाले ध्वनि प्रदूषण हुने गरी घण्टी बजाउँदै निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोप लगाउँदै आयोगमा उजुरी दिएको थियो। सामाजिक सञ्जालमा धार्मिक स्थानमा प्रयोग हुने घण्टीको दुरुपयोग भएको भन्दै चर्को आलोचना भएपछि आयोगले उक्त निर्णय गरेको जनाएको छ।
आयोगका अनुसार राजनीतिक दल वा उम्मेदवारले कपडा, तुल, फ्लेक्स वा कागजमा आफ्ना चुनाव चिह्न छापेर प्रचार गर्न पाउनेछन्। तर काठ वा धातुबाट बनाइएका निर्वाचन चिह्न बोकेर वा प्रयोग गरेर प्रचारप्रसार गर्न भने नपाइने स्पष्ट गरिएको छ।
आयोगले निर्वाचन आचारसंहिताको पालना गर्न सबै दल तथा उम्मेदवारलाई आग्रह गरेको हो।


