धादिङ बस दुर्घटना : २२ घाइतेलाई काठमाडौँ ल्याइयो, एकको उपचारका क्रममा मृत्यु



काठमाडौं – पोखराबाट काठमाडौँ आउँदै गर्दा धादिङमा दुर्घटनामा परेको ग.२ ख.१४२१ नम्बरको यात्रुवाहक बसका घाइतेमध्ये २२ जनालाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार काठमाडौँ ल्याइएका घाइतेमध्ये १२ जनाको राष्ट्रिय ट्रमा सेन्टरमा र १० जनाको नेसनल अस्पताल कलङ्कीमा उपचार भइरहेको छ। उपचारका लागि ल्याइएका २३ जनामध्ये एक जना घाइतेको उपचारकै क्रममा मृत्यु भएको उहाँले जानकारी दिनुभयो। मृतकको पहिचान खुलेको छैन।

नेसनल अस्पताल कलङ्कीमा ९ पुरुष र १ महिला उपचाररत छन्। ट्रमा सेन्टरमा ७ पुरुष र ५ महिलाको उपचार भइरहेको छ। नेसनल सिटी अस्पतालमा उपचाररत घाइतेहरूमा सीतापाइला बस्ने ३३ वर्षीय राजेश कुँवर, तनहुँ भक्तेका १८ वर्षीय सुविन मल्ल, कास्की

लेखनाथकी ३५ वर्षीया प्रतिभा पौडेल, कास्की देवीनगरका २३ वर्षीय चन्द्रआशिष फुँयाल, काठमाडौँ लोलाङका १९ वर्षीय सङ्गम मल्ल, कास्की चिसुवाकी ३९ वर्षीया प्रमिला भट्टराई, स्याङ्जा फेदी खोला–४ का ६४ वर्षीय डम्मरबहादुर विक, काठमाडौँ कलङ्कीका २५ वर्षीय कृष्ण तिवारी, कास्कीका २० वर्षीय सुनम गुरुङ र धादिङ धुनिबेँशीका ३६ वर्षीय राजेन्द्र बिसुन्के रहेका छन्।

यस्तै, ट्रमा सेन्टरमा उपचाररतहरूमा चिनियाँ नागरिक २२ वर्षीया कि मिसि हाउ, काठमाडौँ बौद्धकी ४८ वर्षीया एन्जी शेर्पा, तनहुँका ४५ वर्षीय सोमप्रसाद मल्ल, झापाका ३० वर्षीय विपिन मानन्धर, काठमाडौँ गोकर्णकी २८ वर्षीया पूजा फुयाल, स्याङ्जा फेदी खोलाका २६ वर्षीय सचिन्द्र सुनार र कास्की लेखनाथका प्रदीप लामिछाने रहेका छन्।

त्यसैगरी, ट्रमा सेन्टरमै काठमाडौँ बौद्ध बस्ने नोर्बु पाल्देन, कपनकी स्वर्णीमा खत्री, कास्कीकी १९ वर्षीया सलिना परियार, तनहुँका ४४ वर्षीय मानबहादुर थापा र काठमाडौँ बौद्धकी ४८ वर्षीया लङ्साङ्गोली लामाको उपचार भइरहेको काठमाडौँ प्रहरीले जनाएको छ। उक्त दुर्घटनामा यसअघि १८ जनाको मृत्यु भएको थियो भने २६ जना घाइते भएका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्