उदयपुरमा बस दुर्घटना, १५ जना घाइते



उदयपुर,फागुन ११– मदन भण्डारी लोकमार्ग अन्तर्गत उदयपुरगढी गाउँपालिका–७ अँधेरी जोगी टोलमा सोमबार बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन्।

कटारीबाट गाईघाटतर्फ आउँदै गरेको बा.२ ख.६२५७ नम्बरको ओखलढुङ्गे बस अचानक ब्रेक फेल भई सडकबाट करिब ४० फिट तल खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएकाहरूको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको छ। घाइतेमध्ये उदयपुरगढी–७ की ७३ वर्षीया सोममाया मगर र कटारी नगरपालिका–२ की ६० वर्षीया सोममाया परियारको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

घटना लगत्तै सशस्त्र प्रहरी बल नेपाल नं. ५ गण त्रियुगाबाट सशस्त्र प्रहरी नायब उपरीक्षक भुवन भण्डारीको कमान्डमा १३ जना र अस्थायी प्रहरी पोस्ट सङ्गमचोकबाट प्रहरी सहायक निरीक्षक तिलक पौडेलको नेतृत्वमा ६ जनाको संयुक्त टोली उद्धारमा खटिएको थियो। दुर्घटनाग्रस्त बस घटनास्थलमै रहेको छ भने चालक कटारी नगरपालिका–४ बस्ने ४५ वर्षीय विक्रम राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

दुर्घटनामा घाइते हुनेहरूमा त्रियुगा नगरपालिका–११ की २२ वर्षीया मणिका मगर, कटारी नगरपालिका–४ की ३५ वर्षीया अनिता चौधरी, उदयपुरगढी–७ की ७३ वर्षीया सोममाया मगर, ताप्ली गाउँपालिका–५ का ४० वर्षीय प्रकाश भुजेल, त्रियुगा नगरपालिका–७ की २१ वर्षीया रेशिका बस्नेत, रौतामाई गाउँपालिका–७ का १७ वर्षीय तिलक बस्नेत, उदयपुरगढीका १० वर्षीय दिपेश तामाङ, कटारी नगरपालिका–४ की १९ वर्षीया पवित्रा श्रेष्ठ, त्रियुगा नगरपालिका–५ की २० वर्षीया रेश्मा बस्नेत, कटारी नगरपालिका–२ की ६० वर्षीया सोममाया परियार, कटारी नगरपालिका–३ का २७ वर्षीय सहचालक नितेश बुढाथोकी, कटारी नगरपालिका–५ का ७८ वर्षीय दल बहादुर तामाङ, कटारी नगरपालिका–४ का १५ वर्षीय प्रेम तामाङ, ताप्ली गाउँपालिका–५ का २८ वर्षीय सुवास नेपाली र कटारी नगरपालिका–४ का १५ वर्षीय सुजन तामाङ रहेका छन्।

प्रतिक्रिया दिनुहोस्