धादिङ बस दुर्घटना : पाँच घण्टापछि कृष्णराज मानन्धरको जीवित उद्धार



धादिङ,फागुन ११– दुर्घटनाग्रस्त ग.२ ख.१४२१ नम्बरको बसभित्र च्यापिएका कृष्णराज मानन्धरलाई पाँच घण्टापछि जीवितै उद्धार गरिएको छ। गएराति धादिङको बेनीघाट रोराङ गाउँपालिका–५, चरौँदीस्थित भैँसेगौडामा भएको बस दुर्घटनामा परेका ललितपुर इमाडोल निवासी मानन्धरलाई उद्धार टोलीले लामो प्रयासपछि जीवितै बाहिर निकालेको हो।

भिरमा बजारिएर कच्याक–कुचुक्क बनेको बसभित्रै च्यापिएका मानन्धरलाई बसका पार्टपुर्जा काटेर बाहिर निकालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुमित खड्काले जानकारी दिनुभयो। पर्याप्त उद्धार सामग्रीको अभाव र दुर्घटनास्थल अप्ठ्यारो भएकाले तत्काल उद्धार गर्न कठिनाइ भएको उहाँको भनाइ छ।

“मलाई बचाउनुहोस् भन्दै यात्रु चिच्याइरहेका थिए। हामीसँग तुरुन्तै बस उठाउन वा काट्न सक्ने उपकरण थिएन। लामो समय सान्त्वना दिएर राख्यौँ, जनेरेटरसहितको मेसिन ल्याएर बसको साइलेन्सर र पछाडिको टायरपट्टिको भाग काटेर मानन्धरलाई बाहिर निकाल्यौँ,” प्रहरी उपरीक्षक खड्काले भन्नुभयो। उहाँका अनुसार मानन्धरलाई उपचारका लागि काठमाडौँ रिफर गरिएको छ र प्रारम्भिक अवस्थामा स्वास्थ्य सामान्य देखिएको छ।

पोखराबाट काठमाडौँ आउँदै गरेको माछापुच्छ्रे टुर्स एन्ड ट्राभल्सको उक्त बस धादिङमा दुर्घटना हुँदा १७ जनाको घटनास्थलमै तथा एक जनाको उपचारका क्रममा मृत्यु भएको छ। २६ जना घाइते विभिन्न अस्पतालमा उपचाररत छन्। मृतकहरूको शव धादिङ अस्पताल र गजुरी स्वास्थ्य केन्द्रमा परीक्षणका लागि राखिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्