एक पटक गोल हान्ने मौका दिनुस् : केशव पाण्डे
नुवाकोट,फागुन ११ – नेकपा एमाले नुवाकोट क्षेत्र नं. २ का उम्मेदवार केशव पाण्डेले मतदातासँग आफूलाई एक पटक ‘गोल हान्ने’ मौका दिन आग्रह गरेका छन्।
बेलकोटगढीको पाँटापौवामा सोमबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता पाण्डेले फुटबल खेलको उदाहरण दिँदै मतदातासँग समर्थन मागेका हुन्। “फुटबलमा गोल एक जनाले गर्छ, तर मेडलको हकदार सबै खेलाडी हुन्छन्। तपाईंहरूले मलाई गोल हान्ने मौका दिनुस्, म तपाईंहरूलाई अवश्य मेडल दिलाउनेछु,” उनले भने, “तपाईंहरूले पास गरेको बल मेरो खुट्टामा पुग्यो भने म गोल हान्नेछु, हरेक क्षेत्रमा गोल गर्नेछु।”
उनले नेकपा एमाले देश विकासमा योगदान पुर्याएको पार्टी भएको दाबी गर्दै सुरुङमार्गको थालनी एमालेले नै गरेको स्मरण गराए। “अब डाँडा चढेर ओरालो झर्ने होइन, डाँडा प्वाल पारेर सुरुङ बनाउने हो, त्यो एमालेले सुरु गरिसकेको छ,” उनले भने।
पाण्डेले २०६४ सालमा जनताले माओवादीलाई पहिलो पार्टी बनाए पनि जनमतको सम्मान गर्न नसक्दा उनीहरू कमजोर अवस्थामा पुगेको टिप्पणी गरे। बेलकोटगढी र समग्र नुवाकोटको विकासका लागि एमाले विजयी हुनुपर्नेमा उनले जोड दिए। यसपटक एमालेले बहुमत ल्याउने दाबी गर्दै नुवाकोटमा पनि जित आवश्यक रहेको बताए।
देशको सार्वभौमसत्ता, लोकतन्त्र तथा सबै जातजाति र भाषाभाषीको संरक्षणका लागि एमालेको नेतृत्व आवश्यक रहेको उनको भनाइ थियो। “एमाले जित्दा एमालेको मात्र होइन, देशकै विजय हुन्छ,” उनले भने। जनताको दुःखमा आफू अघि र सुखमा पछि रहने प्रतिबद्धता समेत उनले व्यक्त गरे।
कार्यक्रममा एमालेका सल्लाहकार तथा पूर्वमन्त्री महेन्द्र पाण्डे र नेता नारायण खतिवडाले पनि एमाले विजयी भए मात्र नुवाकोटको विकास सम्भव हुने बताएका थिए। कार्यक्रममा जिल्ला नेतासहित पार्टीका नेता–कार्यकर्ताको सहभागिता रहेको थियो।
नुवाकोटमा एमालेको यो पहिलो चुनावी सभा हो। सभा सुरु हुनुअघि बाजागाजासहित र्याली आयोजना गरिएको थियो।

