निर्वाचन प्रचारप्रसारमा संलग्न नहुन प्राध्यापक, शिक्षक तथा कर्मचारीलाई आयोगको निर्देश



काठमाडौँ,फागुन ११ – निर्वाचन आयोगले प्राध्यापक, शिक्षक तथा कर्मचारीलाई आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्षमा प्रचारप्रसारमा संलग्न नहुन निर्देशन दिएको छ।

केही प्राध्यापक, शिक्षक तथा कर्मचारी राजनीतिक दल र उम्मेदवारको पक्षमा प्रचारप्रसारमा संलग्न भएको भन्दै आयोगमा उजुरी परेपछि आयोगले सोमबार विज्ञप्ति जारी गर्दै यस्तो आह्वान गरेको हो।

निर्वाचनको स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न आयोगले निर्वाचन आचारसंहिता, २०८२ लागू गरेको जनाएको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आचारसंहिताको पूर्ण पालना गर्नु सरोकारवाला सबै पक्षको दायित्व हो र राजनीतिक दल, उम्मेदवार तथा सम्बन्धित पक्षले आचारसंहिता पालना गरे–नगरेको विषयमा आयोगले अनुगमन गरिरहेको छ।

शिक्षा ऐन, २०२८ को दफा १६ ङ. उपदफा (५) को खण्ड (छ) मा शिक्षक वा कर्मचारी राजनीतिक दलको कार्यकारिणी समितिको सदस्य रहेको पाइएमा पदबाट हटाइने व्यवस्था छ। यस्तै निर्वाचन आचारसंहिता, २०८२ को दफा १० को खण्ड (क) मा विद्यालय, महाविद्यालय वा विश्वविद्यालय तथा सोसँग सम्बद्ध कर्मचारी, प्राध्यापक तथा शिक्षकले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन नपाइने स्पष्ट व्यवस्था गरिएको छ।

त्यसैगरी सोही दफाको खण्ड (ग) बमोजिम शैक्षिक संस्थाका सवारीसाधन, भवन वा अन्य सामग्री राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रयोग गर्न दिन, सभा–सम्मेलन वा प्रचारप्रसार गर्न नपाइने उल्लेख गरिएको छ।

आयोगले शैक्षिक संस्थामा आबद्ध प्राध्यापक, शिक्षक तथा कर्मचारीलाई आफ्नो पदको मर्यादा, तटस्थता र कानुनी दायित्वलाई मनन गर्दै आचारसंहिताविपरीत हुने कुनै पनि राजनीतिक गतिविधिमा संलग्न नहुन सचेत गराएको हो।

प्रतिक्रिया दिनुहोस्