भारतको झारखण्डमा एयर एम्बुलेन्स दुर्घटना, सात जनाको मृत्यु



भारत,फागुन १२ । भारतको झारखण्ड राज्यमा चार्टर्ड विमान दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। रेडबर्ड बीचक्राफ्ट किङ एयर बी–९० एल नामक उक्त विमान एयर एम्बुलेन्सका रूपमा सञ्चालन हुँदै आएको थियो।

भारतीय सञ्चारमाध्यमका अनुसार सोमबार साँझ राँचीबाट उडान भरेको विमान झारखण्डको चत्रा जिल्लास्थित समरियाको जंगल क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो। दुर्घटनापछि विमान पूर्ण रूपमा क्षतिग्रस्त भएको जनाइएको छ।

विमानमा क्याप्टेन विवेक विकास भगत (पाइलट), क्याप्टेन सबराजदीप सिंह (सह–पाइलट), बिरामी संजय कुमार, परिवार सदस्य अर्चना देवी र धुरु कुमार, चिकित्सक विकास कुमार गुप्ता तथा प्यारामेडिकल स्टाफ सचिन कुमार मिश्रा सवार थिए। सबैको घटनास्थलमै मृत्यु भएको पुष्टि गरिएको छ।

उक्त विमान बिरामीलाई उपचारका लागि दिल्ली लैजाँदै गरेको बताइएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको भारतीय अधिकारीहरूले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्