‘सुरुङदेखि सिँचाइसम्म’ : नुवाकोट–१ मा डा. प्रकाशशरण महतको विकास प्रतिज्ञा



नुवाकोट,फागुन १२– चुनावी माहोल तातेका बेला नुवाकोट क्षेत्र नम्बर १ मा पूर्वाधार विकास, कृषि सशक्तीकरण र वातावरणीय सन्तुलनका विषय फेरि एकपटक बहसको केन्द्रमा आएका छन्। नेपाली कांग्रेसका उम्मेदवार डा. प्रकाशशरण महतले मंगलबार लिखु गाउँपालिकाको ढिकुरे बजारमा आफ्नो प्रतिज्ञापत्र सार्वजनिक गर्दै नुवाकोटको समग्र विकासका लागि दत्तचित्त भएर लाग्ने प्रतिबद्धता जनाएका छन्।

कार्यक्रममा बोल्दै उनले काठमाडौंसँगको दूरी घटाउने दीर्घकालीन महत्वको योजनाका रूपमा अघि बढिरहेको टोखा–छहरे सुरुङमार्गको निर्माण प्रक्रिया अगाडि बढाउन पहल गर्ने बताए। सुरुङमार्ग निर्माणले नुवाकोटलाई राजधानीसँग अझ नजिक बनाउने र आर्थिक गतिविधिमा नयाँ सम्भावना थप्ने उनको विश्वास छ।

पूर्वाधार विस्तारलाई विकासको मेरुदण्ड मान्दै उनले हाल निर्माण प्रक्रियामा रहेका सडक आयोजना समयमै सम्पन्न गरिने बताए।बालाजु–रानीपौवा–पिपलटार (पासाङ ल्हामु राजमार्ग) का बाँकी खण्ड पूरा गर्ने, ढिकुरे–समुन्द्रटार–गोल्फुभञ्ज्याङ सडक निर्माण सम्पन्न गर्ने र तिनपिप्ले–चाउँथे–कुमरी–गल्छी वैकल्पिक राजमार्गलाई गति दिने उनको प्रतिबद्धता छ। कृषि र पर्यटनका सम्भाव्य क्षेत्रलाई गाउँपालिका केन्द्रसँग जोड्ने सडक तथा पुल निर्माणमा विशेष जोड दिइने उनले बताए। सबै पालिकाभित्र गाउँ–वेशी जोड्ने प्रमुख सडक निर्माणलाई प्राथमिकतामा राखिने उनको भनाइ छ।

कृषि उत्पादन वृद्धि र किसानको आय बढाउन लिखु र तादी नदीको कटान नियन्त्रण गर्दै खेतीयोग्य जमिनमा पूर्ण सिँचाइ व्यवस्था गरिने उनले उल्लेख गरे। सिँचाइको अभावमा उत्पादन घट्ने अवस्थालाई अन्त्य गर्न ठोस पहल गरिने उनको दाबी छ। साथै, शुद्ध पिउने पानीको पहुँच विस्तारलाई आधारभूत प्राथमिकता दिइने र यसका लागि विशेष योजना अघि सारिने उनले बताए।

विकास र वातावरणबीच सन्तुलन आवश्यक रहेको उल्लेख गर्दै उनले सबै आयोजना वातावरणीय अध्ययनका आधारमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए। सिसडोल–बञ्चरे डम्पिङ साइट प्रभावित क्षेत्रको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन पूर्णरूपमा कार्यान्वयनमा लैजान पहल गर्ने प्रतिबद्धता पनि उनले जनाए।

डा. महतले नुवाकोटलाई सडक, सुरुङ, सिँचाइ, खानेपानी र वातावरणीय संरक्षणको सन्तुलित विकासमार्फत समृद्ध र अवसरयुक्त जिल्लामा रूपान्तरण गर्ने लक्ष्यसहित आफू निर्वाचनमा होमिएको स्पष्ट पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्