नुवाकोटमा असिनासहित वर्षा, चिसो बढ्यो
नुवाकोट,फागुन १२ – मंगलबार दिउँसो नुवाकोटका विभिन्न स्थानमा असिनासहित वर्षा भएको छ। जिल्लाको शिवपुरी गाउँपालिका–६ गुरुङ गाउँ र सूर्यचौर क्षेत्रमा असिना पानी परेको स्थानीय शिक्षक ध्रुव सिलवालले बताएका छन्।
त्यस्तै पूर्वी क्षेत्रका शिवपुरी, पञ्चकन्या, तादी र दुप्चेश्वरसहित जिल्लाका अधिकांश भूभागमा हावाहुरीसहित वर्षा भएको छ। वर्षासँगै चिसो बढेको स्थानीयको भनाइ छ।
केहीबेर परेको असिनाले सामान्य प्रभाव पारे पनि समग्रमा परेको वर्षा हिउँदे बालीका लागि उपयुक्त भएको कृषकहरूले बताएका छन्। लामो समयदेखि पानी नपरेका कारण सुक्खापन बढ्दै गइरहेको अवस्थामा भएको वर्षाले गहुँ, जौ तथा तरकारी बालीलाई राहत पुगेको जनाइएको छ।

