रास्वपा सभापति रवि लामिछाने नुवाकोट आउँदै, एकैदिन दुई ठाउँमा चुनावी सभा
नुवाकोट,फागुन १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने नुवाकोट आउने भएका छन्। पार्टीले फागुन १४ गते बिहीबार जिल्लाका दुई स्थानमा चुनावी सभा आयोजना गर्ने भएकाले सम्बोधनका लागि नुवाकोट आउने कार्यक्रम रहेको बताइएको छ।
पार्टीका अनुसार नुवाकोट क्षेत्र नम्बर २ अन्तर्गत विदुर–४ बट्टारस्थित हावाघरमा दिउँसो ३:३० बजे चुनावी सभा सुरु हुनेछ। त्यसपछि सोही दिन नुवाकोट क्षेत्र नम्बर १ अन्तर्गत लिखु–६ छहरेमा दिउँसो ४:३० बजे अर्को सभा आयोजना गरिनेछ।
आगामी निर्वाचनलाई लक्षित गर्दै आयोजना गरिएका यी सभामा सभापति लामिछानेसहित पार्टीका अन्य नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ। नुवाकोट जिल्ला सभापति रामेश्वर गजुरेलले कार्यक्रममा सहभागी भई सफल बनाउन स्थानीय मतदाता तथा समर्थकहरूलाई आग्रह गरेका छन् ।


