सावित्रा भण्डारीको उपचारका लागि २४ घण्टामै डेढ करोडभन्दा बढी सहयोग जुट्यो
काठमाडौं, फागुन १२ – राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’को उपचारका लागि २४ घण्टाभित्रै डेढ करोड रुपैयाँभन्दा बढी सहयोग रकम जुटेको छ।
मंगलबार सामाजिक सञ्जालमार्फत जानकारी दिँदै उनले आफ्नो उपचारका लागि नेपाली बैंक खातामा एक करोड रुपैयाँभन्दा बढी तथा विदेशी प्लेटफर्ममार्फत ४५ लाख रुपैयाँ (करिब ५२ हजार न्युजिल्याण्ड डलर) जम्मा भएको बताइन्। विभिन्न संघ–संस्था, प्रायोजक तथा विदेशमा रहेका नेपाली समुदायबाट समेत नगद तथा सुविधा सहयोगको प्रतिबद्धता आएको उनले उल्लेख गरेकी छन्।
पर्याप्त रकम संकलन भइसकेको जनाउँदै भण्डारीले आजबाटै दुवै खातामा सहयोग रकम रोकिदिन आग्रह गरेकी छन्। सहयोग गर्ने सम्पूर्ण व्यक्तित्व र संस्थाप्रति आभार व्यक्त गर्दै उनले आफू दृढ संकल्पका साथ मैदानमा फर्कने बताइन्।
“दृढ संकल्पका साथ भन्छु, म फर्कनेछु, अझ मजबुत भएर फर्कनेछु। पुनः नेपालको जर्सी लगाएर मैदानमा उत्रिनेछु, देशका लागि र तपाईंहरूको विश्वासका लागि,” उनले उल्लेख गरेकी छन्।
घुँडाको गम्भीर चोटका कारण जटिल शल्यक्रिया गर्नुपर्ने अवस्था आएको भन्दै उनले सोमबार आर्थिक सहयोगको अपिल गरेकी थिइन्। त्यसलगत्तै स्वदेश तथा विदेशबाट उल्लेखनीय सहयोग जुटेको हो।

