रास्वपा छाडेका बागमती प्रदेश उपसभापति हुमागाईं कांग्रेसमा प्रवेश
सर्लाही,फागुन १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशका उपसभापति दिनेश हुमागाईं नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। उनलाई मंगलबार कांग्रेस सभापति गगनकुमार थापाले पार्टीमा स्वागत गरेका हुन्।
केही दिनअघि रास्वपा परित्याग गरेका हुमागाईंले सात बुँदे असन्तुष्टि सार्वजनिक गर्दै राजीनामा दिएका थिए। उनले प्रतिनिधिसभा सदस्य उम्मेदवार छनोट प्रक्रियामा चरम चलखेल भएको आरोप लगाएका थिए। पार्टीमा समर्पित कार्यकर्तालाई पाखा लगाएर चाकडी गर्ने, खुसी पार्ने र नेतृत्व वरिपरि घुम्ने व्यक्तिहरूलाई प्राथमिकता दिइएको उनको दाबी थियो।
‘पार्टीमा समर्पित कार्यकर्ताहरूलाई पाखा लगाई अन्य दलबाट हालसालै आएका व्यक्तिहरूलाई प्राथमिकता दिइएको छ,’ उनले आरोप लगाउँदै सामाजिक अभियन्ताको आवरणमा रहेका व्यक्तिहरूलाई स्वार्थका आधारमा उम्मेदवार बनाइएको उल्लेख गरेका थिए।
यसका साथै केन्द्रीय संरचना विस्तारमा अपारदर्शिता, सदस्यता तथा आर्थिक व्यवस्थापनमा गम्भीर प्रश्न, विधान उल्लंघन, आन्तरिक लोकतन्त्रमाथि प्रहार, प्रदेश तथा तल्लो तहको आवाजको बेवास्ता, शीर्ष नेतृत्वमाथि नैतिक प्रश्न तथा पार्टीभित्र संरचनागत विकृति र निजी स्वार्थ हाबी भएको आरोप पनि उनले लगाएका थिए।
हुमागाईंको कांग्रेस प्रवेशसँगै बागमती प्रदेशको राजनीतिक वृत्तमा नयाँ चर्चा सुरु भएको छ।

