नुवाकोटका विभिन्न स्थानमा भीषण असिनापानी, बालीमा क्षति
नुवाकोट,फागुन १२– नुवाकोटको तारकेश्वर गाउँपालिका वडा नम्बर १ अन्तर्गत जन्तरे, फलाँटे, सेलडाँडा, लर्केप लगायतका विभिन्न स्थानमा मंगलबार अपरान्ह भीषण असिनापानी परेको छ।
अचानक परेको असिनासहितको वर्षाले आलु, गहुँ, तोरी तथा विभिन्न तरकारी बालीमा क्षति पुगेको स्थानीय कृषकहरूले बताएका छन्। केही स्थानमा असिना बाक्लो परेका कारण खेतबारी सेताम्य बनेको थियो।
त्यस्तै शिवपुरी गाउँपालिकाको माथिल्लो क्षेत्र सूर्यचौर, ककनी तथा बेलकोटगढी नगरपालिका आसपासका क्षेत्रमा समेत असिनापानी परेको जनाइएको छ। बेलकोटगढी नगरपालिकाका कृषि प्राविधिक सुन्दर श्रेष्ठका अनुसार क्षतिको यकिन विवरण संकलन भइनसके पनि विशेषगरी नगदेबालीमा असर पुगेको प्रारम्भिक अनुमान गरिएको छ।
वर्षासँगै परेको असिनाले चिसो समेत बढाएको स्थानीयले बताएका छन्। कृषकहरूले क्षतिको विवरण संकलन गरी आवश्यक राहत तथा सहयोगका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

