पौडेलको सिङ्गापुरस्थित बैंक खाताको विवरण झिकाउन विशेष अदालतको आदेश
काठमाडौं,फागुन १३ – विशेष अदालतले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनील पौडेलको नाममा सिङ्गापुरको बैंकमा रहेको खाता विवरण झिकाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आदेश दिएको छ।
पौडेलको नाममा सिङ्गापुरस्थित युनाइटेड ओभरसिज बैंक लिमिटेडमा रहेको भनिएको बचत तथा मुद्दती खाताको विवरण पेस गर्न अदालतले निर्देशन दिएको हो। विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले उक्त आदेश जारी गरेको हो।
अदालतको आदेशमा विवरण प्राप्त हुन सक्ने भए सम्बन्धित विवरण उपलब्ध गराउन र प्राप्त हुन नसक्ने भए सोहीअनुसारको जवाफ कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमार्फत यथाशीघ्र पठाउन भनिएको छ।
सरकारी उपकरण तथा सफ्टवेयर खरिद प्रक्रियाका क्रममा सिङ्गापुरमा घुस लिई सो रकम त्यहीँको बैंक खातामा राखिएको दाबीसहित अख्तियारले २०८१ वैशाखमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो। सोही मुद्दाको सुनुवाइका क्रममा अदालतले बैंक खातासम्बन्धी विस्तृत विवरण माग गर्ने आदेश दिएको हो।

