बाँदरझुलाका बासिन्दा अझै आधारभूत सुविधाविहीन, चुनावी वाचा पुरानै
चितवन,फागुन १३ । चितवनको विकट बाँदरझुला (हाल हनुमानझुला) गाउँमा चुनावी चहलपहल बढे पनि स्थानीय बासिन्दाको जीवनस्थितिमा भने खासै परिवर्तन आएको छैन। २०७२ सालको भूकम्पले क्षतिग्रस्त बनाएको झुप्रोमै वर्षौंदेखि बस्दै आएकी बद्रीमाया प्रजाजस्तै धेरै परिवार अझै आधारभूत सुविधाविहीन अवस्थामा छन्। गाउँमा बिजुली, सहज सडक, शुद्ध खानेपानी र लालपुर्जाको समस्या यथावत् रहेको स्थानीयको गुनासो छ।
चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने यस बस्तीका बासिन्दाले विगतमा स्थानान्तरणको पीडा समेत भोगेका छन्।खेतीबाली वन्यजन्तुले नोक्सान गर्ने, छ महिना खान नपुग्ने र बाँकी समय ज्यालामजदुरी वा वैदेशिक रोजगारीमा निर्भर हुनुपर्ने बाध्यता छ।नागरिकता दिएर भोट बैंकका रूपमा प्रयोग गरिएको तर जग्गाधनी प्रमाणपत्र नदिएको उनीहरूको आरोप छ।
चुनावका बेला भने नेताहरूको बाक्लो उपस्थिति रहने गरेको स्थानीय बताउँछन्। सडक, बिजुली र लालपुर्जा दिलाउने आश्वासन हरेक निर्वाचनमा दोहोरिने भए पनि कार्यान्वयन नभएको गुनासो छ। “बुथ राख्न मिल्ने, सुविधा दिन नमिल्ने?” भन्ने प्रश्न स्थानीयले उठाएका छन्।चितवन क्षेत्र नम्बर ३ अन्तर्गत पर्ने यस गाउँमा एक हजारभन्दा बढी मतदाता छन्, जसको मत परिणामका लागि निर्णायक मानिन्छ। यही क्षेत्रबाट विजयी नेताहरू उच्च पदमा पुगे पनि गाउँको अवस्था उस्तै रहेको भन्दै स्थानीयले यसपटकका उम्मेदवारबाट ठोस कामको अपेक्षा गरेका छन्।

