घोषणापत्रमा कर्णालीको सडक पूर्वाधार पहिलो प्राथमिकतामा
सुर्खेत, फागुन १३ – फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले सार्वजनिक गरेका घोषणापत्रमा कर्णाली प्रदेशको सडक पूर्वाधार विकासलाई पहिलो प्राथमिकतामा राखिएको छ। नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र उज्यालो नेपाल पार्टीलगायत दलहरूले सडक सञ्जाल विस्तारलाई समृद्धिको आधार मानेका छन्।
कांग्रेसले हिल्सा दु्रतमार्ग, विभिन्न अन्तरप्रदेशीय सडक, सुरुङमार्ग तथा जलविद्युत् र सांस्कृतिक संरक्षणका योजना अघि सारेको छ भने एमालेले कर्णाली कोरिडोरलाई ‘समृद्धिको मेरुदण्ड’ बनाउने र भेरी–बबई आयोजना सम्पन्न गर्ने लक्ष्य राखेको छ। नेकपाले हिमाल समृद्धि कार्यक्रम, कृषि औद्योगिक पार्क र कर्णाली राजमार्ग चार लेन विस्तारको योजना समेटेको छ।
रास्वपाले नयाँ पर्यटकीय गन्तव्य प्रवर्द्धन, रेल सञ्जालसँग जोड्ने र गौरवका आयोजना दुई वर्षभित्र सम्पन्न गर्ने उल्लेख गरेको छ भने राप्रपा र उज्यालो नेपाल पार्टीले जडीबुटी प्रशोधन, जलविद्युत्, स्मार्ट सिटी तथा जलमार्ग अध्ययनजस्ता योजना अघि सारेका छन्।
दलका नेताहरूले घोषणापत्र कार्यान्वयनयोग्य रहेको दाबी गरे पनि नागरिक अगुवाहरूले ती योजना महत्त्वाकांक्षी मात्र नभई कार्यान्वयनमा चुनौतीपूर्ण हुने टिप्पणी गरेका छन्। यद्यपि सडक, शिक्षा र स्वास्थ्य क्षेत्रमा केन्द्रित भई काम गर्न सके कर्णालीको समग्र विकास सम्भव हुने सुझाव दिइएको छ।

