नुवाकोटमा सुमो दुर्घटना, चालकसहित ६ जना घाइते
नुवाकोट,फागुन १३ – नुवाकोटको लिखु गाउँपालिका–६ फँगटेस्थित टोखा–छहरे सडकखण्डमा सुमो गाडी दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन्।
बुधबार बिहान करिब ११:०० बजे दुप्चेश्वरबाट काठमाडौं आउँदै गरेको ना १ ज ६६६५ नम्बरको सुमो आफैं अनियन्त्रित भई सडकबाट करिब २ मिटर तल पल्टिएको प्रहरीले जनाएको छ। दुर्घटनापछि घाइतेहरूलाई प्रारम्भिक उपचारका लागि स्थानीय मेडिकलमा लगिएको थियो भने थप उपचारका लागि सबैलाई काठमाडौं पठाइएको छ।
दुर्घटनामा एक अन्दाजी ४०/४५ वर्षीया महिला अचेत अवस्थामा गम्भीर घाइते भएकी छन्। त्यसैगरी ललितपुर इमाडोल निवासी ३५ वर्षीया गोरीमाया सुनार टाउको र निधारमा चोट लागी गम्भीर अवस्थामा छिन्। अन्य घाइतेहरूमा राल्पा तामाङ (अन्दाजी ५६ वर्ष), श्रीमान तामाङ (अन्दाजी ६८ वर्ष), अन्दाजी ६५ वर्षीया एक महिला र सुमो चालक दुप्चेश्वर गाउँपालिका–१ निवासी २१ वर्षीय प्रितम तामाङ रहेका छन्। उनीहरूको अवस्था मध्यम रहेको जनाइएको छ।
दुर्घटनाग्रस्त सुमो गाडी घटनास्थलमै रहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

