निर्वाचन खर्च बैंक खातामार्फत नगरे कारबाही हुने आयोगको चेतावनी
काठमाडौँ, फागुन १३ – निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैंक खातामार्फत मात्रै खर्च गर्न राजनीतिक दल तथा उम्मेदवारलाई निर्देशन दिएको छ। बैंक खाता नखोली वा खाता खोलेर पनि बैंकिङ कारोबार नगरी खर्च गरे निर्वाचन आचारसंहिता उल्लंघन ठहर भई कारबाही गरिने आयोगले चेतावनी दिएको हो।
आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार हालसम्म ९ वटा राजनीतिक दल र १ हजार ३ सय ८९ उम्मेदवारले बैंक खाता सञ्चालनमा ल्याएका छन्। आयोगले तोकेको व्यवस्था पालना नगरे प्रचलित कानुनअनुसार कारबाही हुने उनले बताए।
खाता सञ्चालन गर्ने दलहरूमा नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, नेकपा संयुक्त, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), नेपालका लागि नेपाली पार्टी, जनता समाजवादी पार्टी (जसपा), संयुक्त नागरिक पार्टी, मितेरी पार्टी र नेपाल जनता संरक्षण पार्टी रहेका छन्।
नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लगायतका ठूला दलले भने हालसम्म बैंक खाता सञ्चालनमा नल्याएको आयोगले जनाएको छ।

