प्रतिनिधिसभा निर्वाचनमा १ लाख ८६ हजार अस्थायी मतदाता
काठमाडौं,फागुन १३ – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर १ लाख ८६ हजार अस्थायी मतदाता कायम गरिएको निर्वाचन आयोगले जनाएको छ। ती मतदाताले समानुपातिक निर्वाचन प्रणालीतर्फ तोकिएका मतदानस्थलमा मतदान गर्न पाउनेछन्।
निर्वाचनमा खटिएका कर्मचारी, सुरक्षाकर्मी तथा अन्य कारणले आफ्नै मतदानस्थलमा पुग्न नसक्ने मतदातालाई अस्थायी मतदाता सूचीमा समावेश गर्ने व्यवस्था गरिएको हो। स्थायी मतदाता नामावलीमा नाम समावेश भएका नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह र सरकारी स्वामित्वका संस्थाका कर्मचारी, सेना, प्रहरी, कारागारका थुनुवा तथा कैदी, निर्वाचनमा खटिएका कर्मचारी तथा सुरक्षाकर्मी र संवैधानिक निकायका पदाधिकारीहरूलाई यस सूचीमा राखिएको छ।
निर्वाचन आयोगका सहप्रवक्ता कुलबहादुर जिसीका अनुसार अस्थायी मतदाताका लागि देशभर १४३ मतदानस्थल निर्धारण गरिएको छ। आयोगले अस्थायी मतदातालाई तोकिएको स्थानमा गई मतदान गर्न आग्रह गरेको छ।

