एसइई नतिजा सुधार्न महानगरका ६ विद्यालयमा विशेष कक्षा सुरु
काठमाडौं,फागुन १३ । काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सुधारका लागि ६ वटा सामुदायिक विद्यालयमा विशेष कक्षा सञ्चालन सुरु गरेको छ। गत वर्ष ५० प्रतिशतभन्दा कम विद्यार्थी उत्तीर्ण भएका विद्यालयलाई लक्षित गर्दै पहिलो चरणमा गीतामाता, कोटेश्वर सरस्वती, जुद्धोदय, पद्मकन्या, परोपकार र गुहेश्वरी बालशिक्षा माध्यमिक विद्यालयमा कक्षा सुरु गरिएको हो। यी विद्यालयका ५२३ विद्यार्थी विशेष कक्षामा सहभागी हुनेछन्।
शिक्षा विभाग प्रमुख नमराज ढकालका अनुसार विषय विज्ञ, स्रोत शिक्षक तथा सेवानिवृत्त शिक्षकबाट कक्षा सञ्चालन गरिनेछ। कम नतिजा र न्यून विद्यार्थी संख्या भएका अन्य पाँच विद्यालयमा भने चैत ३ गतेपछि कक्षा सुरु गरिनेछ, जहाँ १०४ विद्यार्थी सहभागी हुनेछन्। दुवै समूह गरी ६२७ विद्यार्थीलाई विशेष कक्षा प्रदान गरिनेछ।
कार्यवाहक प्रमुख सुनिता डङ्गोलले विद्यार्थीमा परीक्षाको डर हटाई आत्मविश्वासका साथ परीक्षा दिन र उत्तर लेख्ने सीप विकास गराउने उद्देश्यले कक्षा सञ्चालन गरिएको बताउनुभयो। यस वर्ष महानगरका सामुदायिक विद्यालयबाट करिब ४ हजार ५५७ विद्यार्थी एसइईमा सहभागी हुँदैछन्।
विसं २०८१ को एसइईमा ७८९ विद्यार्थीले ३.६१ देखि ४ जिपिए प्राप्त गरेका थिए, जसमध्ये १७ जनाले ४ जिपिए ल्याएका थिए। यो नतिजा अघिल्लो वर्षको तुलनामा उल्लेख्य वृद्धि भएको महानगरले जनाएको छ।

