त्रिभुवन विमानस्थलबाट विदेशी मुद्रासहित स्वीडिस नागरिक पक्राउ



काठमाडौं,फागुन १३ – प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा विदेशी मुद्रासहित एक जना स्वीडिस नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा राहदानी नम्बर एए ३८४६४९१ की ५१ वर्षीया स्वीडिस नागरिक कुन्चोक खान्ड्रो रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक ढुन्डीराज नेउपानेले जानकारी दिनुभयो। उहाँका अनुसार Sichuan Airlinesको उडानबाट काठमाडौं हुँदै चीन जान लागेकी उनलाई अन्तर्राष्ट्रिय प्रस्थान कक्षबाट पक्राउ गरिएको हो।

प्रहरीका अनुसार खैरो रङको साइड ब्यागभित्र लुकाइ–छिपाइ लैजान लागेको अवस्थामा उनको साथबाट अमेरिकी डलर १० हजार ५००, युरो २६ हजार ७००, चिनियाँ युआन ७ हजार ४०० र स्वीडिस क्रोनर ४३ हजार बरामद गरिएको छ।

पक्राउ परेकी स्वीडिस नागरिकलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान विभाग पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्