देश सम्हाल्ने सामर्थ्य कांग्रेससँग मात्रै छ : विश्वप्रकाश शर्मा



सर्लाही, फागुन १३ – विश्वप्रकाश शर्माले वर्तमान प्रतिकूल अवस्थाबाट देशलाई जोगाएर अगाडि लैजाने सामर्थ्य नेपाली कांग्रेससँग मात्रै रहेको दाबी गर्नुभएको छ।

बुधबार सर्लाहीको हरिवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेसका उपसभापति शर्माले कांग्रेसजत्तिको परिपक्वता र समन्वय गर्ने क्षमता अन्य दलसँग नरहेको जिकिर गर्नुभयो। “अहिलेको चुनौतीपूर्ण समयमा देश सम्हाल्ने कर्तव्य कांग्रेसकै हो,” उहाँले भन्नुभयो।

निर्वाचनपछि कसैलाई गाली नगरी सबैलाई विश्वासमा लिएर अघि बढ्ने उहाँको भनाइ थियो। महाधिवेशनपछि सुधारिएको र नयाँ ऊर्जा सहित अघि बढेको कांग्रेसले अनुभव र नयाँ पुस्ताको भावना दुवै समेटेको दाबी गर्दै महामन्त्री गगनकुमार थापाको नेतृत्वमा प्रतिज्ञापत्र तयार गरिएको उल्लेख गर्नुभयो।

यसैबीच, मतदानको दिन नजिकिँदै जाँदा सर्लाहीमा शीर्ष नेताहरूको चुनावी दौडधुप बढेको छ। बुधबार नै रवि लामिछानेले लालबन्दी र मलङ्गवालगायतका स्थानमा कार्यकर्तालाई सम्बोधन गर्दै परिवर्तनका लागि आफ्नो पार्टीका उम्मेदवारलाई जिताउन आग्रह गर्नुभयो। त्यस्तै, हर्क साम्पाङले पनि लालबन्दीमा आयोजित कार्यक्रममा कार्यकर्तालाई सम्बोधन गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्