नुवाकोट–१ मा चुनावी सरगर्मी: शिवपुरीमा हितबहादुर तामाङको घरदैलो अभियान



नुवाकोट,फागुन १४ – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा नुवाकोट क्षेत्र नम्बर १ मा चुनावी गतिविधि तीव्र बनेको छ। यसैक्रममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेता तथा साझा उम्मेदवार हित बहादुर तामाङको उपस्थितिमा शिवपुरी गाउँपालिकामा दुई दिने ‘निर्वाचन केन्द्रित अभियान’ सम्पन्न भएको छ।

अभियानको सुरुवात फागुन १२ गते शिवपुरी–१ तालाखु सर्वदेवबाट गरिएको थियो। तामाङसहितको टोलीले डोडेडाँडा, खाङखुङ र बिन्डाँडा लगायतका टोलमा पुगेर मतदातासँग भेटघाट गरेको थियो। स्थानीयवासीले विकास र समृद्धिको एजेन्डामा ऐक्यबद्धता जनाउँदै स्वागत गरेका थिए।

अभियानका क्रममा टोलीले वडा नं. ८ को थानापति हुँदै वडा नं. ७ को चैजु खरिभज्याङ, काफलडाँडा र सुनखानी ठुलो पाटो क्षेत्रको भ्रमण गरेको थियो। त्यसपछि वडा नं. ६ को गुर्जे हुँदै मानेडाँडामा ‘पार्टी प्रवेश’ कार्यक्रम आयोजना गरिएको थियो, जहाँ अन्य दल परित्याग गरी दर्जनौँ कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेको जनाइएको छ। टोली वडा नं. ५ को कुखुरेसम्म पुगेर मतदाता शिक्षा तथा घरदैलो कार्यक्रमलाई निरन्तरता दिएको थियो।

अभियानको दोस्रो दिन शिवपुरी–२ को ग्याङटोल र चगाम तथा शिवपुरी–३ को मैदान, लिप्टोल, टापकेटार हुँदै सिक्रेमा कार्यक्रम सम्पन्न भएको छ। घरदैलोका क्रममा देखिएको उत्साहपूर्ण सहभागिता र विभिन्न दलबाट भएको प्रवेशले तामाङको जित सुनिश्चित रहेको दाबी स्थानीय नेता–कार्यकर्ताले गरेका छन्। तामाङले मतदाताको उत्साहले आफूलाई थप जिम्मेवार बनाएको बताउँदै अधुरा विकास योजना पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै दुर्गम बस्तीमा सडक, शिक्षा र स्वास्थ्य पहुँच विस्तार गर्ने अठोटसहित फागुन २१ गते मतदान गर्न सबैमा अपिल गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्