नुवाकोट तादीमा भ्रामक सूचना फैलाइएको भन्दै एमालेको आपत्ति



नुवाकोट,फागुन १४ – नेकपा (एमाले) ले तादीमा सम्पर्क कार्यालय खोल्ने क्रममा केही थान कुर्सी तथा पार्टी सामग्री आफ्नै प्रचार गाडीमा लगिएको विषयलाई लिएर सामाजिक सञ्जाल र केही अनलाइन पेजमार्फत भ्रामक सूचना फैलाइएको भन्दै नेकपा एमाले तादीले आपत्ति जनाएको छ।

पार्टीले विज्ञप्ति जारी गर्दै नुवाकोट क्षेत्र नं. १ का उम्मेदवार बद्री मैनालीलाई असर पार्ने उद्देश्यले तथ्यहीन र मिथ्या प्रचार गरिएको दाबी गरेको छ। जनताबाट बढ्दो समर्थन र एमाले प्रवेशको लहरका कारण आत्तिएका पक्षले अनावश्यक भ्रम सिर्जना गर्न खोजेको आरोप लगाइएको छ।

एमालेले मिडियाको नाममा सञ्चालित केही पेज र सामाजिक सञ्जाल प्रयोगकर्ताबाट आधारहीन प्रचार गरिएको भन्दै यस्ता कपोलकल्पित सूचनामा विश्वास नगर्न मतदाता र आम नागरिकलाई अनुरोध गरेको छ। तादी सम्पर्क कार्यालयले जनताबाट प्राप्त साथ र समर्थनप्रति आभार व्यक्त गर्दै आगामी दिनमा जनसमर्थन अझ सशक्त बन्दै जाने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्