चुनाव छाडेर शेरबहादुर देउवा सिंगापुर प्रस्थान
काठमाडौं, फागुन १४ – चुनावको मुखैमा शेरबहादुर देउवा उपचारका लागि सिंगापुर प्रस्थान गरेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी स्रोतका अनुसार उनी हिजो राति १२ बजे Singapore Airlinesको उडानमार्फत सिंगापुर गएका हुन्।
देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर गएको जनाइएको छ। उनकी पत्नी आरजु राणा देउवा भने तीन दिनअघि नै सिंगापुर गइसकेकी थिइन्।
विशेष महाधिवेशनमार्फत नेपाली कांग्रेस गगन थापाको नेतृत्वमा पुगेपछि देउवा सक्रिय राजनीतिमा केही अन्योलमा देखिएका थिए। गृहजिल्ला डडेल्धुराका समर्थकहरूले मतदानका लागि भए पनि आउने अपेक्षा गरे पनि यसपटक उनी निर्वाचनमा सहभागी नहुने उनको सचिवालयले जनाएको छ।
डडेल्धुराबाट २०४८ सालदेखि लगातार सात पटक प्रतिनिधिसभा निर्वाचन जितेका देउवा यसपटक भने उम्मेदवार बनेका छैनन्। पार्टीको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको पृष्ठभूमिमा उनी थप असहज स्थितिमा रहेको निकट स्रोतहरूको भनाइ छ।
यद्यपि कांग्रेस प्रवक्ता देवराज चालिसेले पूर्वसभापति सिंगापुर गएको विषयमा आफूहरू जानकार नरहेको प्रतिक्रिया दिएका छन्। यसअघि पनि उपचारका लागि सिंगापुर गएका देउवा दम्पत्ति १८ दिनपछि स्वदेश फर्किएका थिए।

