निर्वाचन आचारसंहिता उल्लङ्घनसम्बन्धी ८७ उजुरीमा स्पष्टीकरण माग



काठमाडौँ, फागुन १४ – केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म दर्ता भएका ८७ उजुरीका सम्बन्धमा राजनीतिक दल तथा उम्मेदवारसँग स्पष्टीकरण मागिएको निर्वाचन आयोगले जनाएको छ। तीमध्ये ५७ वटाको जवाफ प्राप्त भएको आयोगका कानुन अधिकृत मोहनराज जोशीले जानकारी दिएका छन्।

आयोगका अनुसार हालसम्म ८१ जनालाई लिखित स्पष्टीकरण सोधिएको छ भने छ जनालाई पुनः स्पष्टीकरण माग गरिएको छ। निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भनी उजुरी परेका राजनीतिक दल, उम्मेदवार, सरकारी तथा गैरसरकारी संस्था, सञ्चारमाध्यम र पत्रकारसँग स्पष्टीकरण मागिएको हो।

दर्ता भएका सञ्चारमाध्यम र तिनमा आवद्ध पत्रकारका हकमा भने प्रेस काउन्सिल नेपालमार्फत स्पष्टीकरण तथा कारबाही प्रक्रिया अघि बढाइएको छ। निर्वाचन विश्लेषणका नाममा मत सर्वेक्षणसम्बन्धी सामग्री प्रकाशन गर्ने सेतोपाटीलाई पनि प्रेस काउन्सिलमार्फत स्पष्टीकरण मागिएको जनाइएको छ।

जिल्लास्तरमा समेत आचारसंहिता उल्लङ्घनसम्बन्धी उजुरीहरू प्राप्त भई आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको आयोगले जनाएको छ। आचारसंहिताको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न केन्द्रीय तथा जिल्ला आचारसंहिता अनुगमन समिति, जिल्ला आचारसंहिता अनुगमन अधिकृत तथा सम्बन्धित निर्वाचन कार्यालय सक्रिय रहेका छन्।

निर्वाचन आचारसंहिता, २०८२ को दफा ३२ बमोजिम ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई आर्थिक बाहेकका विषयमा र प्रमुख कोष नियन्त्रकलाई आर्थिक विषयमा अनुगमन अधिकृत तोकिएको आयोगले जनाएको छ। प्राप्त उजुरीमाथि जाँचबुझ तथा आवश्यक कारबाही प्रक्रिया निरन्तर अघि बढिरहेको आयोगको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्