सिंहदरबार पुनः निर्माण हुन्छ, आमाको कोख कहिल्यै भरिँदैन : रवि लामिछाने
गोरखा,फागुन १४ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सिंहदरबार पुनः निर्माण गर्न सकिने तर आमाले गुमाएको सन्तान कहिल्यै फर्केर नआउने बताउनुभएको छ।
रास्वपा गोरखाद्वारा सदरमुकाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले जेनजी आन्दोलनका क्रममा पहिले गोली चलेका कारण त्यसपछिका घटनाक्रम भएको दाबी गर्नुभयो। “२३ गते गोली नचलेको भए केही पनि जल्ने थिएन,” उहाँले भन्नुभयो, “जो ढल्यो, त्यो फेरि कहिल्यै उठ्दैन। रित्तिएको आमाको कोख कहिल्यै भरिँदैन।सिंहदरबार हामी पुनः निर्माण गर्छौँ, सरकारी संरचना जलेकामा हामीले गौरव गरेका छैनौँ।”
उहाँले आफू वा अरू कोही पनि प्रश्नभन्दा माथि नरहेको उल्लेख गर्दै निष्पक्ष छानबिन हुनुपर्ने धारणा व्यक्त गर्नुभयो। लामिछानेले आजै पालुङटार नगरपालिकामा आयोजित चुनावी सभालाई पनि सम्बोधन गर्नुभएको थियो।

