संविधानलाई सही मार्गमा राख्न निर्वाचन अनिवार्य : गगनकुमार थापा



सुर्खेत,फागुन १४ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संविधानलाई सही मार्गमा राख्नका लागि निर्वाचन अनिवार्य शर्त भएको बताउनुभएको छ।

आज सुर्खेतमा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले निर्वाचन कुनै दल विशेषको योजना नभई वर्तमान परिस्थितिको बाध्यता भएको स्पष्ट पार्नुभयो। संविधानलाई लयमा फर्काउन चुनाव अपरिहार्य रहेको दोहोर्‍याउँदै उहाँले परिणामको चिन्ता नगरी निर्वाचन सफल बनाउन पार्टी लागिपरेको उल्लेख गर्नुभयो।

थापाले केही तत्वहरूले निर्वाचनबारे संशय सिर्जना गर्न खोजेको आरोप लगाउँदै तोकिएकै समयमा मतदान सम्पन्न गराउन सरकारलाई पूर्ण साथ दिने बताउनुभयो। आगामी वर्षहरूमा गत भदौजस्तो आन्दोलन नदोहरियोस् भन्ने उद्देश्यले कांग्रेस जनतासामु गएको उल्लेख गर्दै अब कुनै पनि प्रकारका आन्दोलन र विध्वंस हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा कांग्रेस उपसभापति पुष्पा भुसालले मुलुकलाई राजनीतिक स्थिरताको मार्गमा अघि बढाउन निर्वाचनपछि कांग्रेस नेतृत्वमा स्थायी सरकार गठन आवश्यक रहेको धारणा राख्नुभयो। उहाँले पुस्तान्तरणको मुद्दा पार्टीले स्थापित गरिसकेको दाबी गर्दै आगामी प्रदेश र स्थानीय तह निर्वाचनसम्म प्रतिज्ञापत्र कार्यान्वयनबारे मतदाताले प्रश्न उठाउने अवस्था आउन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्