‘म भोट माग्न आएको होइन, नुवाकोट इतिहास बनाउन कत्तिको तयार छ हेर्न आएको हुँ’ : रवि लामिछाने



नुवाकोट, फागुन १४ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफू भोट माग्न नभई नुवाकोट इतिहास बनाउन कत्तिको तयार छ भन्ने हेर्न आएको बताउनुभएको छ।

बिहीबार साँझ नुवाकोटको बट्टारमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “म यहाँ भोट माग्न आएको होइन, म यहाँ यो क्षेत्रले, यो जिल्लाले इतिहास राख्न कतिको तयार रहेको छ त्यो हेर्न आएको हुँ। त्यो मैले देखेँ, धन्यवाद नुवाकोट।”

लामिछानेले वर्षौंदेखिको व्यथितिलाई अन्त्य गर्न यसअघि रोपिएको ‘बीउ’ अहिले फल्ने बेला आएको उल्लेख गर्नुभयो। “हामीले यसअघि एउटा बीउ रोपेका थियौँ, त्यो बीउ हो सुमन पाण्डे, जुन उन्नत बीउ थियो। यसपटक लटरम्म फल्नेछ,” उहाँले भन्नुभयो।

उहाँले नुवाकोटलाई ‘घन्टीमय जिल्ला’ बनाउने दाबी गर्दै पार्टीका उम्मेदवारहरू कटिबद्ध र इमानदार रहेको बताउनुभयो। “एउटा कटिबद्ध उम्मेदवार पाउन एउटा युग फर्कनुपर्छ,” भन्दै उहाँले यसपटक दुःखलाई ताकतमा बदल्दै दृढताका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो।

आउँदै गरेको फागुन २१ मा एकपटक ‘घन्टी’ चुनाव चिह्नमा मतदान गर्न उहाँले सबै मतदातासँग आग्रह गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्