शिवपुरी सुमो दुर्घटनाका घाइतेलाई राधिका तामाङद्वारा भेटघाट, सुरक्षित सवारी सञ्चालनमा ध्यान दिन आग्रह
काठमाडौँ, फागुन १५– पूर्व मन्त्री एवं बाग्मती प्रदेश सभा सदस्य राधिका तामाङले बिहीबार नुवाकोट शिवपुरी गाउँपालिका–५ कुखुरेमा भएको सवारी दुर्घटनामा घाइते भएकाहरूलाई भेट्नुभएको छ।
दुप्चेश्वर गाउँपालिका–४ जिम्नाङबाट काठमाडौं जाँदै गरेको टाटा सुमो दुर्घटनामा परी हाल ग्राण्डी अस्पतालमा उपचाररत घाइतेहरूको अवस्थाबारे जानकारी लिँदै उहाँले शीघ्र स्वास्थ्य लाभको कामना व्यक्त गर्नुभयो।
सो अवसरमा तामाङले सवारी चलाउँदा लापरबाही नगर्न, नियमित रूपमा सवारीसाधनको जाँच गरी प्राविधिक रूपमा ठीक अवस्थामा राख्न तथा यात्रुको सुरक्षित यात्राको प्रत्याभूति दिन चालक र सवारीधनीलाई ध्यानाकर्षण गराउनुभयो।
उहाँले यस्ता दुर्घटना न्यूनीकरणका लागि सबै पक्ष सचेत हुनुपर्नेमा जोड दिनुभएको छ। बिहीबार भएको सो दुर्घटनामा चालकसहित ७ जना घाइते भएका थिए ।

