संखुवासभा–ताप्लेजुङ सीमाक्षेत्रमा ४.७ म्याग्निच्युडको भूकम्प
संखुवासभा, फागुन १५ – संखुवासभा र ताप्लेजुङको सीमाक्षेत्रमा आज बिहान ३ बजेर १८ मिनेटमा ४.७ म्याग्निच्युडको भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, लैनचौरका अनुसार भूकम्पको केन्द्रविन्दु संखुवासभाको टोप्के गोला आसपास रहेको थियो। भूकम्पको धक्का संखुवासभा र ताप्लेजुङ जिल्लाका विभिन्न स्थानमा महसुस गरिएको जनाइएको छ।
बिहानीपखको समयमा अधिकांश मानिस निद्रामा रहेका बेला धक्का महसुस भएपछि सर्वसाधारण आत्तिँदै घर बाहिर निस्किएका थिए।
प्रारम्भिक सूचनाअनुसार हालसम्म मानवीय तथा भौतिक क्षतिको कुनै विवरण प्राप्त नभएको जिल्लाका सुरक्षा अधिकारीहरूले बताएका छन्। सम्बन्धित निकायले अवस्था सामान्य रहेको र थप विवरण संकलन भइरहेको जनाएको छ।

