नुवाकोटका दुबै क्षेत्र रास्वपाले जितिसकेको छ, घोषणा हुन बाँकी : डा. बिक्रम तिमिल्सिना
नुवाकोट,फागुन १५ – नुवाकोट क्षेत्र नम्बर १ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार डाक्टर बिक्रम तिमिल्सिनाले नुवाकोटका दुबै निर्वाचन क्षेत्र रास्वपाले जितिसकेको दाबी गर्नुभएको छ।
बिहीबार बेलुकी बट्टारमा आयोजित कार्यक्रममा पार्टी सभापति रवि लामिछानेसँगै सहभागी भएपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै तिमिल्सिनाले नुवाकोटे जनसागरले एकै स्वरमा रास्वपाको जित सुनिश्चित भएको सन्देश दिएको उल्लेख गर्नुभयो। “नुवाकोटका दुबै क्षेत्र रास्वपाले जितिसकेको छ, घोषणा हुन बाँकी छ,” उहाँले भन्नुभएको छ।
ढिलाइ, निर्वाचन आचारसंहिता तथा सुरक्षाका कारण सभापतिको छहरेमा तय गरिएको कार्यक्रम स्थगित हुन पुगेको भन्दै उहाँले असुविधाका लागि क्षमायाचना गर्नुभएको छ।
यद्यपि, उत्साहको सम्मानस्वरूप ढिलै भए पनि पार्टी उपसभापति डीपी अर्याल कार्यक्रममा उपस्थित भएकोमा धन्यवाद व्यक्त गर्नुभएको छ।सभापति लामिछानेले अब विजयोत्सवमा सहभागी हुने प्रतिबद्धता जनाएको पनि उहाँले उल्लेख गर्नुभयो।
नुवाकोटका मतदाताले देखाएको प्रेम र उत्साहप्रति तिमिल्सिनाले हार्दिक आभार प्रकट गर्नुभएको छ।

