नुवाकोट–१ मा बढ्दो चुनावी सरगर्मी, ककनीमा हितबहादुर तामाङको घरदैलो अभियान



नुवाकोट ,फागुन १५– निर्वाचनको मिति नजिकिँदै गर्दा नुवाकोट संघीय निर्वाचन क्षेत्र नं. १ मा राजनीतिक गतिविधि तीव्र बनेको छ। यसैक्रममा नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार हितबहादुर तामाङले ककनी क्षेत्रमा घरदैलो अभियान सञ्चालन गर्नुभएको छ।

ककनी हाइटबाट सुरु भएको अभियान नेपाने, मोक्तान र गोले टोल हुँदै ३५ किलो बजारसम्म पुगेको थियो। सिम्ले, माझवा, छापथोक र पौवा चौतारा लगायतका क्षेत्रहरूमा पुगेर तामाङले मतदातासँग प्रत्यक्ष संवाद गर्नुभएको थियो। स्थानीय स्तरसम्म पुगेर गरिएको भेटघाटलाई मतदातासँग नजिकिने रणनीतिका रूपमा हेरिएको छ।

ककनी–५ सिम्लेमा आयोजित पार्टी प्रवेश कार्यक्रम तथा माझवामा अन्य दलका केही कार्यकर्ताले समर्थन सार्वजनिक गरेको बताइएको छ।निर्वाचनको मुखमा प्रतिस्पर्धी दलका कार्यकर्ताले समर्थन परिवर्तन गर्नुले चुनावी माहोल थप रोचक बनेको स्थानीयहरूको भनाइ छ।

अभियानका क्रममा तामाङले विकास, स्थिरता र स्थानीय पूर्वाधार सुधारलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।ककनी–६ को नेपाल टोल र गुम्बा टोलका स्थानीयसँगको भेटमा उहाँले क्षेत्रको दीर्घकालीन विकासका योजनाबारे धारणा राख्नुभएको जनाइएको छ।

निर्वाचन नजिकिँदै जाँदा नुवाकोट–१ मा विभिन्न दलका उम्मेदवारहरूले आफ्नो अभियानलाई तीव्रता दिएका छन्।

प्रतिक्रिया दिनुहोस्