एमाले–रास्वपा कार्यकर्ताबीच झडप, तीन घाइते



बैतडी, फागुन १५ – चुनाव प्रचारका लागि घरदैलो अभियानका क्रममा नेपाल कम्युनिस्ट पार्टी (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताबीच झडप हुँदा तीन जना घाइते भएका छन्। घटनामा संलग्न भएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।

बुधबार अपराह्न जिल्लाको डिलासैनी गाउँपालिका–७ लेकटोलमा चुनाव प्रचारका क्रममा दुवै पक्षबीच विवाद चर्किँदा झडप भएको प्रहरीले जनाएको छ। झडपमा एमाले निकट युवा संघका जिल्ला सदस्य जनक धामी र माधव धामी घाइते भएका छन् भने रास्वपा समर्थक लालबहादुर धामी पनि घाइते भएका छन्।

घाइते एमाले कार्यकर्ताको धनगढीमा उपचार भइरहेको छ भने रास्वपा समर्थक सामान्य उपचारपछि डिस्चार्ज भएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी सुरज सिंहले जानकारी दिनुभयो। उहाँका अनुसार घटनाबारे अनुसन्धानका लागि पाँच जनालाई पक्राउ गरी सोधपुछ भइरहेको छ। अनुसन्धानकै क्रममा रहेकाले पक्राउ परेकाहरूको नाम सार्वजनिक नगरिएको प्रहरीले जनाएको छ। झडपपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको टोली डिलासैनीमा परिचालन गरिएको छ।

घटनापछि एमाले र रास्वपाले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै एकअर्कालाई दोष लगाएका छन्। दुवै पक्षले घटनामा संलग्नको पहिचान गरी कानुनी कारबाहीको माग गरेका छन्।

यसअघि मङ्गलबार डिलासैनी गाउँपालिकाकै गन्ना क्षेत्रमा एमाले र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रचारकबीच सामान्य विवाद भएको थियो। नेकपाका उम्मेदवार परमानन्द भट्ट डिलासैनी पुगेका बेला सामान्य भनाभन भए पनि अप्रिय घटना नभएको नेकपाका नेता प्रतीक कुँवरले बताउनुभएको थियो।

निर्वाचन नजिकिँदै जाँदा सम्भावित झडपलाई मध्यनजर गर्दै जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ। प्रमुख जिल्ला अधिकारी कृष्ण थापाका अनुसार जिल्ला सुरक्षा समितिको बैठकपछि सुरक्षा व्यवस्थालाई थप मजबुत बनाइएको छ। निर्वाचन सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र निर्वाचन प्रहरी गरी दुई हजार सात सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको जनाइएको छ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न राजनीतिक दलहरूसँग समेत छलफल गरिएको र सबै दलले आचारसंहिताको पूर्ण पालना गर्ने प्रतिबद्धता जनाएको प्रमुख जिल्ला अधिकारी थापाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्