प्रतिनिधिसभा निर्वाचनका लागि दुई लाख २१ हजार कर्मचारी खटिने
काठमाडौं,फागुन १५ – प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका १६५ निर्वाचन क्षेत्रमा दुई लाख २१ हजार कर्मचारी खटाइने भएका छन्। सरकारले ७७ जिल्लाका १६५ निर्वाचन क्षेत्रका २३ हजार ११२ मतदान केन्द्र तथा समानुपातिकतर्फ मात्र मत हाल्ने १४३ अस्थायी केन्द्रमा सो सङ्ख्यामा कर्मचारी परिचालन गर्ने भएको हो।
निर्वाचन आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेका अनुसार ५०० भन्दा बढी मतदाता भएका मतदान केन्द्रमा नौ जना र ५०० भन्दा कम मतदाता भएका केन्द्रमा आठ जना कर्मचारी खटाइने व्यवस्था मिलाइएको छ।
मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिइसकेपछि केन्द्रमा खटिने अन्य कर्मचारीलाई सम्बन्धित मतदान अधिकृतले नै प्रशिक्षण दिने व्यवस्था गरिएको आयोगले जनाएको छ।
निर्वाचनका लागि आवश्यक सामग्री र मतपत्र बिहीबार देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा पुगिसकेको आयोगले जानकारी दिएको छ।

