होली मनाउँदा शान्तिसुरक्षा र आचारसंहिता पालना गर्न प्रशासनको आग्रह



काठमाडौं,फागुन १५– जिल्ला प्रशासन कार्यालय काठमाडौँले होली पर्व मनाउँदा शान्तिसुरक्षा तथा आसन्न निर्वाचनलाई ध्यानमा राख्न सर्वसाधारणलाई आग्रह गरेको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँद्वारा जारी सूचनामा धार्मिक तथा सांस्कृतिक रूपमा आ–आफ्नो घरपरिसरभित्र परिवारजन र साथीभाइसँग होली मनाउन कुनै बाधा नपर्ने स्पष्ट पारिएको छ। तर खुला सडक तथा सार्वजनिक स्थानमा अनावश्यक भीडभाड गर्ने, मेला–महोत्सव आयोजना गर्ने तथा मदिरा बिक्रीवितरण र सेवन गर्ने कार्य नगर्न अनुरोध गरिएको छ।

कार्यालयले आसन्न निर्वाचनलाई लक्षित गर्दै लागू भएको निर्वाचन आचारसंहिताको पूर्ण कार्यान्वयनमा जोड दिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालद्वारा जारी सूचनामा जुलुस, आमसभा वा प्रचारप्रसारका क्रममा उम्मेदवारको निर्वाचन चिह्न, झण्डा, स्टिकर अंकित टोपी, टी–सर्ट, ज्याकेट, झोला वा अन्य सामग्री प्रयोग गर्न नपाइने उल्लेख गरिएको छ।

होलीका अवसरमा यस्ता सामग्री प्रयोग गरी आचारसंहिताविपरीत गतिविधि नगर्न प्रशासनले सचेत गराएको छ। साथै, कसैको इच्छाविपरीत रङ वा पानी हाल्ने, मदिरा सेवन गरी सार्वजनिक मर्यादा भंग गर्ने, हो–हल्ला तथा अराजक गतिविधि गर्ने कार्य कानुनविपरीत हुने सूचनामा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्