सवारी दुर्घटनामा दुई जनाको मृत्यु
काठमाडौं,फागुन १५ – गोरखा र सुनसरीमा आज भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार गोरखाको अजिरकोट गाउँपालिका–१ ताराखोलास्थित सडकमा बोलेरो दुर्घटना हुँदा चालक नुवाकोटको विदुर नगरपालिका–६ निवासी जैबहादुर तामाङको मृत्यु भएको हो। दुर्घटनापछि उनलाई उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ।
यस्तै, सुनसरीको इटहरी नगरपालिका–१० मा शुक्रबार अपराह्न टिपरले मोटरसाइकललाई ठक्कर दिँदा स्थानीय अजयकुमार चौधरीको ज्यान गएको छ। दुर्घटनापछि गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको जनाइएको छ।
दुवै घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

