नुवाकोटमा निर्वाचनको दिन सवारी सञ्चालनमा रोक
नुवाकोट,फागुन १५– प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ लाई स्वच्छ, मर्यादित, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न मतदानको दिन नुवाकोटमा सवारी सञ्चालनमा रोक लगाइने भएको छ।
जिल्ला प्रशासन कार्यालय नुवाकोटद्वारा जारी सूचनाअनुसार संवत् २०८२ साल फागुन २१ गते सम्पन्न हुन गइरहेको निर्वाचनलाई लक्षित गर्दै फागुन २० गते राति १२:०० बजेदेखि फागुन २१ गते साँझ मतदान सम्पन्न नभएसम्म सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा प्रतिबन्ध लगाइएको हो।
सूचनामा अत्यावश्यक सेवाका सवारी साधन भने सञ्चालन गर्न पाइने उल्लेख गरिएको छ। एम्बुलेन्स, दमकल, शव वाहन, रक्तसञ्चार सेवाका साधन, सुरक्षा निकायका सवारी साधन, विद्युत मर्मत, खानेपानी तथा ढल मर्मत, दूरसञ्चार सेवा मर्मतका लागि प्रयोग हुने सवारी साधन, कूटनीतिक नियोगका सवारी साधन तथा निर्वाचनका दिन प्रयोगका लागि पास प्राप्त सवारी साधनलाई भने प्रतिबन्ध लागू नहुने जनाइएको छ।
प्रशासनले सबै सरोकारवालालाई सूचनाको पालना गरी निर्वाचन सम्पन्न गर्न सहयोग गर्न आग्रह गरेको छ।

