‘हितबहादुरलाई जिताएर पठाउनुस्, लामो समय मन्त्री बनाउँछु’ – प्रचण्ड
नुवाकोट,फागुन १५ – चुनावी सरगर्मी बढ्दै जाँदा दलहरूका शीर्ष नेताहरू कार्यकर्ता र समर्थकबीच पुगेर माहोल तताइरहेका छन्। यही क्रममा शुक्रबार सम्पन्न नुवाकोट–काठमाडौं सम्पर्क समितिको उम्मेदवार भेटघाट तथा प्रशिक्षण कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले नुवाकोट–१ का उम्मेदवार हितबहादुर तामाङलाई अत्यधिक मतले विजयी गराउन आग्रह गरे।
कार्यक्रममा बोल्दै प्रचण्डले “हितबहादुर तामाङलाई निर्वाचित गरेर पठाउनुस्, लामो समयका लागि मन्त्री बनाउँछु, मैले जे गर्नुपर्छ गर्छु,” भन्दै प्रतिबद्धता व्यक्त गरे। उनले हितबहादुर तामाङ पार्टीका वरिष्ठ नेतामध्ये एक भएको उल्लेख गर्दै स्वर्गीय पोष्टबहादुर बोगटीपछि केन्द्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने नेताका रूपमा चित्रित गरे।
प्रचण्डले हितबहादुर तामाङ इमान्दार, निष्ठावान् र पार्टीको लाइन तथा नेतृत्वप्रति अविचलित रूपमा संघर्ष गर्ने नेता भएको बताए। “जनताको बीचमा उहाँ लोकप्रिय हुनुहुन्छ,” उनले भने, “अघिल्लो पटक क्याबिनेट मन्त्री बनाएर देश र नुवाकोटको विकासमा उहाँलाई लगाइएको थियो। पर्यटन मन्त्रीको जिम्मेवारी दिँदा जनतासामु गरिएको प्रतिबद्धता पूरा गर्ने प्रयास गरेका थियौं।”
आगामी निर्वाचनमा नुवाकोट–१ का मतदाताले अत्यधिक मत दिएर विजयी गराए छोटो समयका लागि मात्र होइन, लामो अवधिका लागि मन्त्रीको जिम्मेवारी दिने सोच रहेको उनले दोहोर्याए। साथै, पोष्टबहादुर बोगटीको योगदान स्मरण गर्दै नुवाकोटका जनतासँग पार्टीको ऐतिहासिक र भावनात्मक सम्बन्ध रहेको उल्लेख गरे।
भेलामा सहभागी कार्यकर्ताहरूले चुनावी तयारी, संगठन सुदृढीकरण र मतदाता सम्पर्कलाई तीव्र बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।कार्यक्रमले नुवाकोटमा चुनावी माहोललाई थप सक्रिय बनाएको आयोजकहरूको भनाइ छ।

