नुवाकोट–१ मा बद्री मैनालीको पर्यटन प्रतिबद्धता सार्वजनिक



नुवाकोट,फागुन १५ – नुवाकोट प्रतिनिधिसभा क्षेत्र नं. १ का उम्मेदवार बद्री मैनालीले पर्यटन क्षेत्रलाई जिल्लाको समृद्धिको प्रमुख आधारका रूपमा अघि सार्दै आफ्नो प्रतिबद्धता सार्वजनिक गरेका छन्। “पर्यटन” शीर्षकअन्तर्गत उनले नुवाकोटलाई आकर्षक तथा व्यवस्थित पर्यटन गन्तव्यका रूपमा विकास गर्ने योजना प्रस्तुत गरेका हुन्।

मैनालीले डिजिटल प्लेटफर्ममार्फत ककनी–दुप्चेश्वर–गोसाइँकुण्ड तथा सुन्दरीजल–गोल्फुभञ्ज्याङ पदमार्गसहितका प्राकृतिक तथा सांस्कृतिक स्थलहरूको प्रवर्द्धन गरिने बताएका छन्। विशेषगरी गोसाइँकुण्ड क्षेत्रसँग जोडिएका धार्मिक र प्राकृतिक सम्पदाको संरक्षणलाई प्राथमिकतामा राख्दै दिगो पर्यटन विकासमा जोड दिइने उनको भनाइ छ।

त्यस्तै, होमस्टे प्रवर्द्धनमार्फत स्थानीय स्तरमा रोजगारी सिर्जना गरी ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने योजना पनि अघि सारिएको छ। सुर्यचौर, ककनी, घ्याङ्स्वाँरा, बाघमारा र रानीडाँडा लगायतका क्षेत्रको पर्यटन पूर्वाधार विकासमा विशेष पहल गरिने उनले उल्लेख गरेका छन्।

पर्यटन प्रवर्द्धनमार्फत नुवाकोटको आर्थिक गतिविधि विस्तार गर्दै जिल्लालाई समृद्धिको नयाँ बाटोमा अघि बढाउने आफ्नो लक्ष्य रहेको मैनालीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्