नुवाकोटका एमाले उम्मेदवारद्वय मैनाली र पाण्डेको पत्रकार सम्मेलन : ‘दुवै क्षेत्रमा जित सुनिश्चित’ दाबी



नुवाकोट, फागुन १६ – प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरू मतदातामाझ सक्रिय बनेका छन्। यसैक्रममा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नुवाकोट क्षेत्र नं. १ का उम्मेदवार बद्री मैनाली र क्षेत्र नं. २ का उम्मेदवार केशवराज पाण्डेले शुक्रबार छुट्टाछुट्टै पत्रकार सम्मेलन गरी आफ्ना योजना, प्रतिबद्धता र जनसमर्थनबारे धारणा सार्वजनिक गरेका छन्।

लिखु गाउँपालिका–१ ढिकुरेमा आयोजित कार्यक्रममा मैनालीले स्वास्थ्य र पर्यटनलाई प्रमुख एजेन्डा बनाउँदै विस्तृत विकास खाका सार्वजनिक गरे। उनले सबै नागरिकलाई निःशुल्क र गुणस्तरीय आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गर्ने, प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नति गर्ने, मातृ–शिशु स्वास्थ्य तथा पोषण कार्यक्रम प्रभावकारी बनाउने र निःशुल्क औषधि आपूर्ति सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरे।

पर्यटन क्षेत्रलाई समृद्धिको आधारका रूपमा अघि सार्दै मैनालीले ककनी–दुप्चेश्वर–गोसाइँकुण्ड तथा सुन्दरीजल–गोल्फुभञ्ज्याङ पदमार्गको डिजिटल प्रवर्द्धन, धार्मिक तथा प्राकृतिक सम्पदाको संरक्षण र दिगो पर्यटन विकासमा जोड दिए। सुर्यचौर, ककनी, घ्याङ्स्वाँरा, बाघमारा र रानीडाँडा क्षेत्रमा पूर्वाधार विकास, होमस्टे प्रवर्द्धन र स्थानीय रोजगारी सिर्जनामा विशेष पहल गरिने उनले बताए।

किसानले बाँदर, बदेल र भालुजस्ता जंगली जनावरका कारण भोगिरहेको समस्या दीर्घकालीन रूपमा समाधान गर्ने प्रतिबद्धता जनाउँदै उनले नीतिगत, प्राविधिक र संरचनागत उपाय अवलम्बन गरिने बताए। युवा बेरोजगारी अन्त्यका लागि सीप विकास, कृषि–आधारित उद्योग, साना तथा मझौला उद्यम र पर्यटन विस्तारमार्फत गाउँमै रोजगारी सिर्जना गर्ने योजना उनले अघि सारे।

लिखु, तादी र सिन्धुरे खोलामा तटबन्धन गरी कृत्रिम ताल निर्माण, तीन ‘स्याटलाइट ग्रामीण सहर’ अवधारणा, प्याराग्लाइडिङसहित पर्यटन हब, दुप्चेश्वर–गोसाइँकुण्ड केबलकार तथा टोखा–छहरे सुरुङमार्गजस्ता योजनाहरू सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमा सम्भाव्यता अध्ययनपछि मात्रै अघि बढाइने उनले स्पष्ट पारे।

यता विदुर नगरपालिका–४ बट्टारमा आयोजित पत्रकार सम्मेलनमा उम्मेदवार पाण्डेले नुवाकोट–२ मा एमालेको जित सुनिश्चित रहेको दाबी गरे। मनोनयन दर्तादेखि हालसम्म मतदातामाझ पुग्दा सकारात्मक प्रतिक्रिया पाएको उनले बताए। “नुवाकोट बनाउने शक्ति एमाले नै हो भन्ने भावना मतदातामा देखिएको छ,” उनले भने।

विगतमा शिक्षा, स्वास्थ्य, पर्यटन र पूर्वाधार विकासका क्षेत्रमा एमालेले महत्वपूर्ण काम गरेको स्मरण गराउँदै पाण्डेले राष्ट्रियता, सार्वभौमिकता र स्वाधीनताको पक्षमा जनताले मत दिने विश्वास व्यक्त गरे। विदुरमा घण्टाघर, गगटे पार्क, पिपलटार रंगशाला र त्रिशूली अस्पताल स्तरोन्नतिलगायतका काम आफ्नो पहलमा सम्पन्न भएको उनले दाबी गरे।

सुशासन, पूर्वाधार विकास, कृषि तथा ग्रामीण अर्थतन्त्र, रोजगारी र उद्यमशीलता, शिक्षा–स्वास्थ्य, पर्यटन, युवा तथा खेलकुद, वातावरण तथा विपद् व्यवस्थापन र सामाजिक न्यायका क्षेत्रमा ठोस योजना कार्यान्वयन गर्ने प्रतिबद्धता उनले जनाए।

पत्रकार सम्मेलनमा पूर्वमन्त्री तथा पूर्वराजदूत महेन्द्रबहादुर पाण्डे, एमाले केन्द्रीय सदस्य विन्दा ढुंगाना, जिल्ला सचिव शिवकुमार चित्रकारलगायत नेताहरूले एमाले जनपक्षीय पार्टी भएको उल्लेख गर्दै दुवै क्षेत्रमा जित सुनिश्चित हुने विश्वास व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस्