चुनावी आश्वासनभन्दा काम गर्ने उम्मेदवारको खोजीमा ५५ लालपुर्जा विहीन



काभ्रेपलाञ्चोक,फागुन १६ – पनौती नगरपालिका–२, तोरीखोरियामा करिब ५५ घरधुरी तामाङ समुदाय चार–पाँच पुस्तादेखि बसोबास गर्दै आएका छन्। तर, पुस्तौँदेखि भोगचलन गर्दै आएको जग्गाको जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) नपाउँदा उनीहरू आजसम्म सुकुमवासीसरह जीवनयापन गर्न बाध्य छन्।

हरेक निर्वाचनमा विभिन्न राजनीतिक दल र उम्मेदवारले लालपुर्जा दिलाइदिने प्रतिबद्धता जनाउँदै मत माग्ने गरे पनि समस्या समाधान नभएको स्थानीयवासीको गुनासो छ। यसपटक भने तोरीखोरियावासी विगतझैँ आश्वासन दिने होइन, साँच्चै लालपुर्जा दिलाउने उम्मेदवारको खोजीमा छन्।

स्थानीय नारायण तामाङले विगतका निर्वाचन सम्झँदै नेताहरूले “लालपुर्जा रातो रुमालमा पोको पारेका छौँ” भन्दै आश्वासन दिएर मत माग्ने तर जितेपछि समस्या समाधान नगर्ने गरेको बताए। “यसपटक हामीलाई काम गर्ने उम्मेदवार चाहिएको छ,” उनले भने। गाउँमा खानेपानी समस्या समाधानका लागि आफैँले पाइप किन्नु परेको, सडकको दयनीय अवस्थाले सास्ती भोग्नुपरेको र गत वर्षको बाढीपहिरोबाट क्षति हुँदा पनि राहत नपाएको उनले सुनाए।

मोहनसिं तामाङका अनुसार बाजेको पालादेखि भोगचलनमा रहेको जग्गा अहिले नातिको पुस्तासम्म आइपुग्दा पनि लालपुर्जा प्राप्त हुन सकेको छैन। “धेरै चुनाव आए, धेरै आश्वासन आए, तर हाम्रो समस्या उस्तै छ,” उनले भने, “अब आशा देखाउने होइन, समाधान गर्ने उम्मेदवार चाहिएको छ।”

सूर्य तामाङले लालपुर्जा नहुँदा जग्गाको सदुपयोग गर्न र आवश्यक पर्दा ऋणलगायत काम गर्न कठिनाइ भएको बताए। “लालपुर्जा भए भोलि अप्ठ्यारो पर्दा सजिलो हुन्थ्यो,” उनले भने।

पनौती नगरपालिकाका पूर्वनगर प्रमुख भीम न्यौपानेका अनुसार पञ्चायतकालदेखि बसोबास रहे पनि स्थानीयले हालसम्म लालपुर्जा पाउन सकेका छैनन्। विसं २०५१ सालमा गठन भएको भूमि आयोगले नापजाँच कार्य सम्पन्न गरे पनि आयोग विघटन भएपछि प्रक्रिया अघि बढ्न सकेन। त्यसयता विभिन्न आयोग गठन भए पनि तोरीखोरियावासीको समस्या समाधान हुन नसकेको उनले बताए।

भूमि समस्या समाधान आयोग काभ्रेपलाञ्चोकका अनुसार नापीको क्रममा तोरीखोरियाको पूर्वी भागको मात्र नापजाँच भएको र पश्चिमी क्षेत्रमा बसोबास भएको जग्गा छुटेकाले लालपुर्जा वितरण हुन नसकेको हो। आयोगका अध्यक्ष विदुरप्रसाद हुमागाईंले वडा कार्यालयको सिफारिसअनुसार प्रक्रिया अघि बढाइएको र सम्बन्धित व्यक्तिको अन्यत्र जग्गा भए/नभएको विषयमा मालपोत कार्यालयमार्फत बुझ्ने काम भइरहेको जानकारी दिए।

पुस्तौँदेखि बसोबास गर्दै आएका तोरीखोरियावासी अहिले पनि लालपुर्जाको प्रतीक्षामा छन्। चुनावी मौसममा फेरि उही प्रतिबद्धता दोहोरिने कि यसपटक समाधानको बाटो खुल्ने हो भन्ने प्रश्न उनीहरूको मनमा छ।

प्रतिक्रिया दिनुहोस्