युवकको हत्यामा संलग्न प्रेमिकासहित दुईजना पक्राउ
धनुषा, फागुन १६ – धनुषामा एक १८ वर्षीय युवकको हत्या प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले मृतककी प्रेमिका र उनका परिवारका दुई सदस्यलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलन गरी घटनाबारे जानकारी दिएको हो।
गत फागुन १४ गते अपराह्न करिब ४ बजे औरही गाउँपालिका–६, चक्करस्थित भित्री सडकखण्डबाट करिब ३०० मिटर पूर्व मसुरी खेतमा एक युवक मृत अवस्थामा फेला परेका थिए। शवको पहिचान हंसपुर नगरपालिका–९, बुदौल (रुदौली) निवासी १८ वर्षीय सुमितकुमार मण्डलका रूपमा भएको प्रहरीले जनाएको छ। उनी सगरमाथा माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत थिए।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा मृतक सुमित र हंसपुर नगरपालिका–६, सोनिगामा बस्ने १७ वर्षीया काजल कुमारी मण्डलबीच करिब एक वर्षदेखि प्रेम सम्बन्ध रहेको खुलेको छ। फागुन १३ गते साँझ काजलले सुमितलाई घरमा बोलाएकी थिइन्। त्यसक्रममा काजलका परिवारका सदस्यले उनीहरूलाई देखेपछि विवाद भएको बताइएको छ।
रुग्मबहादुर कुँवरका अनुसार सुमितलाई नियन्त्रणमा लिएपछि काजलका दाजु २० वर्षीय दीपेशकुमार मण्डल र उनका आफन्त २९ वर्षीय परमेश्वर मण्डलले उनलाई मोटरसाइकलमा राखेर घरदेखि करिब डेढ किलोमिटर टाढा खेततर्फ लगेको अनुसन्धानबाट खुलेको छ। त्यहाँ धारिलो हतियार प्रहार गरी उनको हत्या गरिएको प्रहरीको भनाइ छ।
घटनापछि अभियुक्तहरूले मृतकको मोटरसाइकल लुकाउने प्रयास गरेका थिए। प्रहरीले मोटरसाइकल, घटनामा प्रयोग गरिएको धारिलो हतियार र डोरी बरामद गरेको जनाएको छ। पक्राउ परेका तीनैजनामाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको छ।
एसपी कुँवरका अनुसार धनुषामा पछिल्लो समय भएका छ वटा हत्या घटनामध्ये चार वटाको अनुसन्धान टुंगो लगाइसकिएको छ भने बाँकी दुई घटनामा अनुसन्धान जारी रहेको छ। प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ।

