बोलिभियामा सैन्य विमान दुर्घटना, १५ जनाको मृत्यु, ३० घाइते
पाज,फागुन १६— दक्षिण अमेरिकी देश बोलिभियामा वायु सेनाको हरक्युलिस विमान दुर्घटनामा पर्दा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन्। दुर्घटना शनिबार बिहान भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
रायटर्सका अनुसार खराब मौसमका कारण अवतरणका क्रममा विमान धावनमार्गबाट चिप्लिएर नजिकैको सडकमा पुगेको थियो। सडकमा पुगेर ठोक्किँदा विमान दुई टुक्रा भएको बताइएको छ।
दुर्घटनाका बेला विमानले देशको केन्द्रीय बैंकका नोट बोकेको थियो। घटनास्थल आसपास सडकभर नोट छरिएको दृश्य देखिएको स्थानीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्। साथै, सडकमा गुडिरहेका करिब १५ वटा सवारीसाधनमा क्षति पुगेको बताइएको छ।
घटनापछि एल आल्टो अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ। सुरक्षा निकाय र उद्धार टोलीले घाइतेहरूलाई नजिकका अस्पतालमा पुर्याएका छन्।
स्थिति नियन्त्रणमा लिन स्थानीय अधिकारीहरूले भीड व्यवस्थापनका लागि पानीको फोहोरा र अश्रुग्यास प्रयोग गरेको जनाइएको छ।दुर्घटनाको विस्तृत अनुसन्धान सुरु गरिएको अधिकारीहरूले बताएका छन्।

