उज्यालो नेपालको ‘उज्यालो प्रतिबद्धता सभा’ आज खुलामञ्चमा
काठमाडौं,फागुन १६ — उज्यालो नेपाल पार्टीले आज काठमाडौंको खुला मञ्चमा ‘उज्यालो प्रतिबद्धता सभा’ आयोजना गर्ने भएको छ।
पार्टीका प्रचार–प्रसार समिति संयोजक तथा काठमाडौं क्षेत्र नं. ५ का उम्मेदवार श्रीराम गुरुङले जनतालाई पार्टीका प्रतिबद्धता स्पष्ट रूपमा बुझाउन सभा गर्न लागिएको जानकारी दिए। उनका अनुसार सभामार्फत मुलुकको विकासका लागि स्पष्ट रोडम्याप सार्वजनिक गरिनेछ।
“देशलाई अब भाषण होइन, परिणाम चाहिएको छ,” गुरुङले भने, “पार्टी अध्यक्षको प्रमुख आतिथ्यमा हुने सभामा ऊर्जा विस्तार, आर्थिक रूपान्तरण, रोजगारी सिर्जना र राष्ट्रिय विकासका ठोस योजना सार्वजनिक गरिनेछ।”
सभामा पार्टी अध्यक्ष कुलमान घिसिङको प्रमुख आतिथ्य रहने जनाइएको छ। पार्टीले सभामा उपस्थित भई आफ्ना नीति तथा कार्यक्रमबारे जानकारी लिन र अन्यलाई समेत सन्देश पुर्याउन आग्रह गरेको छ।

