सात अन्तर्राष्ट्रिय गन्तव्यका उडान रद्द
काठमाडौँ, फागुन १६ — विभिन्न अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडानमा प्रतिबन्ध लगाइएपछि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने सात गन्तव्यका उडान रद्द गरिएका छन्।
सारजहा, दोहा, दुबै, कुबेत सिटी, अबुधाबी, कतार र दमाम विमानस्थलतर्फका आज दिउँसो र रातिका सबै उडान स्थगित गरिएको विमानस्थलका महाप्रबन्धक टेकनाथ सिटौलाले जानकारी दिए।
उनका अनुसार सम्बन्धित देशका विमानस्थलमा उडान प्रतिबन्ध लगाइएकाले नेपालबाट ती गन्तव्यतर्फ सञ्चालन हुने सबै उडान रद्द गर्नुपरेको हो। “उडान कहिलेबाट पुनः सञ्चालन हुन्छ भन्नेबारे सम्बन्धित निकायको अर्को निर्णयपछि मात्रै जानकारी गराइनेछ,” उनले भने।
विमानस्थल कार्यालयले यात्रुलाई विमानस्थल आउनुअघि सम्बन्धित वायुसेवा कम्पनीसँग सम्पर्क गरी आफ्नो उडानको अवस्थाबारे यकिन गर्नसमेत आग्रह गरेको छ।

