स्थानीय एजेन्डाबाट राष्ट्रिय बहससम्म : नुवाकोट १ मा डा. बिक्रम तिमिल्सिनाको ‘वाचा’



नुवाकोट,फागुन १६ — चुनावी माहोल तातेको बेला डाक्टर बिक्रम तिमिल्सिना नुवाकोट क्षेत्र नम्बर १ मा परम्परागत भाषणभन्दा फरक ढंगले प्रस्तुत भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट उम्मेदवारी दिएका उनले आफ्नो ‘वाचा पत्र’लाई केवल घोषणापत्र नभई स्थानीय यथार्थबाट जन्मिएको सुधारको मार्गचित्रका रूपमा अघि सारेका छन्।

उनको मूल नारा छ— भ्रष्टाचारमुक्त, पारदर्शी र परिणाममुखी शासन। नागरिक आन्दोलन र पुस्तान्तरणको भावनाबाट प्रभावित राजनीतिक दृष्टिकोणले जनजीविकालाई केन्द्रमा राखेको उनी बताउँछन्। “जनप्रतिनिधिको भूमिका सबै काम आफैं गर्ने होइन, तर स्थानीय आवाजलाई राष्ट्रिय नीतिसँग जोड्ने हो,” उनी भन्छन्।

कृषिबाट सुरु हुने परिवर्तन

नुवाकोट–१ को अर्थतन्त्रको मेरुदण्ड कृषि भएको तिमिल्सिनाको विश्लेषण छ। त्यसैले उत्पादनदेखि बजारसम्मको श्रृंखलालाई व्यवस्थित गर्ने, बिचौलिया नियन्त्रण, सस्तो कर्जा, मल–बिउ र बीमाको सुनिश्चितता गर्ने उनको प्राथमिकता छ। बाँदर, दुम्सी, बँदेल र मृगबाट हुने क्षतिको दीर्घकालीन समाधानसहित क्षतिपूर्तिको संयन्त्र निर्माण गर्नुपर्नेमा उनले जोड दिएका छन्।

उनले “राष्ट्रिय कृषि बजार सुरक्षा तथा किसान संरक्षण ऐन” ल्याउन पहल गर्ने घोषणा गरेका छन्, जसले किसानको उत्पादनलाई न्यूनतम मूल्य र बजार सुरक्षा दिने दाबी गरिएको छ।

वैदेशिक रोजगारी : जोखिमबाट अवसरतर्फ

रोजगारीको अभावले विदेशिन बाध्य युवालाई सुरक्षित र सिप–आधारित वैदेशिक रोजगारीतर्फ लैजानुपर्ने उनको अर्को एजेन्डा हो। विदेशमा आर्जित सिप, पुँजी र अनुभवलाई स्वदेशी कृषि, उद्योग र उद्यममा जोड्ने नीतिगत पहल गर्ने उनी बताउँछन्।

“रेमिटेन्स–निर्भर अर्थतन्त्रलाई उत्पादनमुखी बनाउने समय आएको छ,” उनको तर्क छ। यसका लागि “सुरक्षित वैदेशिक रोजगारी, सिप मान्यता तथा स्वदेश पुनः एकीकरण ऐन” ल्याउन पहल गर्ने उनको प्रतिबद्धता छ।

पूर्वाधार र पर्यटन : सम्भावनाको ढोका

दुर्गम पहाडी भूगोललाई अवसरमा बदल्न सडक, पुल, खानेपानी, सिंचाइ र विद्युत पूर्वाधारमा जोड दिनुपर्ने तिमिल्सिनाको योजना छ। विशेषगरी मध्यपहाडी लोकमार्गसँग जोडिएका सहायक सडक स्तरोन्नतिलाई उनले रणनीतिक प्राथमिकता दिएका छन्।

धार्मिक तथा पर्यटकीय स्थलको बहुआयामिक विकासमार्फत रोजगारी सिर्जना गर्ने लक्ष्यसहित चिसापानी, सुइरेचौर र दुप्चेश्वर महादेव क्षेत्रको प्रवर्द्धनमा पैरवी गर्ने उनी बताउँछन्।

शिक्षा, प्रविधि र डिजिटल पहुँच

प्राविधिक र सिप–आधारित शिक्षालाई प्राथमिकता दिँदै ग्रामीण क्षेत्रमा डिजिटल पहुँच विस्तार, ई–गभर्नेन्स सुदृढीकरण र सेवा प्रवाह सुधार गर्ने उनको योजना छ। युवालाई नवप्रवर्तन र स्टार्टअपमैत्री वातावरण उपलब्ध गराउँदै ज्ञानमा आधारित अर्थतन्त्रसँग जोड्ने लक्ष्य उनले सार्वजनिक गरेका छन्।

समावेशीता र सुशासन

जातीय, भौगोलिक, आर्थिक र लैङ्गिक आधारमा पछाडि पारिएका समुदायका मुद्दा संसदमा तथ्य र प्रमाणका आधारमा उठाउने उनको प्रतिबद्धता छ। संघ, प्रदेश र स्थानीय तहबीचको नीतिगत दोहोरोपन हटाउने तथा बजेट कार्यान्वयनमा पारदर्शिता सुनिश्चित गर्ने विषयलाई उनले सुशासनको आधार मानेका छन्।

स्थानीयबाट राष्ट्रिय प्रभावतर्फ

डा. तिमिल्सिनाको वाचा पत्रको केन्द्रीय भाव स्थानीय आवश्यकतालाई राष्ट्रिय कानुनी सुधारसँग जोड्नु हो। उनका अनुसार नुवाकोट–१ का मुद्दा संसदमा उठाउने मात्र होइन, दीर्घकालीन प्रभाव पार्ने ऐन निर्माणमा पहल गर्नु नै उनको लक्ष्य हो।

“स्थानीय यथार्थबाट निर्देशित तर राष्ट्रिय प्रभाव पार्ने सुधार” उनका शब्दमा यही चुनावी अभियानको मूल सार हो। कृषिमा आधारित दिगो अर्थतन्त्र, सुरक्षित र सम्मानजनक श्रम, समावेशी समाज र जिम्मेवार विदेश नीतितर्फ उन्मुख राजनीतिक दृष्टिकोणले नुवाकोट–१ को चुनावी बहसलाई फरक आयाम दिएको छ।

प्रतिक्रिया दिनुहोस्