निर्वाचनको दिन अत्यावश्यक सवारीलाई पास नचाहिने व्यवस्था मिलाउन आयोगको आग्रह
काठमाडौँ ,फागुन १७— निर्वाचन आयोगले मतदानको दिन अत्यावश्यक सेवामा प्रयोग हुने सवारीसाधनलाई पास आवश्यक नपर्ने व्यवस्था मिलाउन सरकारसँग अनुरोध गरेको छ।
शनिबार जारी विज्ञप्तिमा आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान दिन (फागुन २१ गते) सवारीसाधन सञ्चालनलाई प्रभावकारी, व्यवस्थित र अत्यावश्यक सेवामैत्री बनाउन ‘सवारीसाधन अनुमतिसम्बन्धी कार्यविधि, २०८२’ का प्रावधानका आधारमा यस्तो आग्रह गरिएको जनाएको हो।
आयोगका अनुसार मतदानको दिन दमकल, एम्बुलेन्स, शववाहन, खानेपानीका ट्याङ्कर, दूध, फलफूल, तरकारी, माछामासु, पेट्रोलियम पदार्थ बोकेका सवारीसाधन, दूरसञ्चार, खानेपानी, विद्युत् र ढल मर्मतमा प्रयोग हुने सवारीसाधनलाई पास आवश्यक पर्ने छैन। साथै अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीको आवतजावत र अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई सेवाका यात्रु बोकेका सवारीसाधनलाई पनि पास नचाहिने जनाइएको छ।
त्यसैगरी गर्भवती, सुत्केरी, अशक्त वा अपाङ्गता भएका व्यक्ति, हिँड्डुल गर्न नसक्ने ज्येष्ठ नागरिक वा मतदाता र उनीहरूका एक जना सहयोगी बोकेका सवारीसाधनलाई पनि पास आवश्यक नपर्ने उल्लेख छ।कूटनीतिक नियोगका ‘सीडी’ नम्बर प्लेट भएका सवारी, आयोगबाट परिचयपत्र प्राप्त पर्यवेक्षकले प्रयोग गर्ने सवारी, राष्ट्रिय मानव अधिकार आयोगबाट अनुगमनका लागि प्रयोग हुने सवारी तथा प्रेस पास भएका सञ्चारकर्मीका सवारीसाधनलाई पनि उक्त व्यवस्था लागू हुने आयोगले स्पष्ट पारेको छ।
विज्ञप्तिमा निर्वाचन आयोग, गृहमन्त्रालय र जिल्ला प्रशासन कार्यालय, काठमाडौँका प्रतिनिधि सम्मिलित एकीकृत सवारीसाधन आवागमन ‘डेस्क’ आयोग परिसरमै स्थापना गरिएको जनाइएको छ। सो डेस्कमार्फत काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाबाट जारी हुनुपर्ने सवारी पाससमेत वितरण भइरहेको आयोगले जानकारी दिएको छ।

