नुवाकोट–२ मा एमाले प्रवेशको लहर, केशव पाण्डेको पक्षमा समर्थन बढ्दै
नुवाकोट, फागुन १७ — नुवाकोट क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार केशव पाण्डेलाई समर्थन गर्दै विभिन्न दलका नेता तथा कार्यकर्ता एमाले प्रवेश गरेका छन्।
शनिबार सदरमुकाम बट्टारमा आयोजित चुनावी सभामा नेपाली कम्युनिष्ट पार्टीबाट सन्तोष बोगटी, आश्विन खड्का, दीपेन्द्र पुडासैनी, अजय बस्नेत, प्रभात बोगटी, अनिश भुजेल, निषान थापा, मनिष तामाङ, सुवास घले र लक्की घले एमालेमा प्रवेश गरेका हुन्।उनीहरूलाई एमालेका पूर्व पोलिटब्युरो सदस्य तथा पूर्व मन्त्री महेन्द्र बहादुर पाण्डेले खादा लगाएर पार्टीमा स्वागत गरे।
त्यसैगरी नेपाल परिवार दलबाट कुबेर कुमाल, गणेश कुमाल, मीनकुमार कुमाल, राजकुमार कुमाल, रामबाबु कुमाल, राजु कुमाल, हरे राई, भिमशेन कुमाल, सञ्जय कुमाल, मिलन कुमाल, देवकुमार कुमाल, फुलमाया कुमाल, सुन्दर कुमाल, रामजी कुमाल र हरी श्रेष्ठलगायत युवाहरू एमालेमा समाहित भएका छन्।
सभालाई सम्बोधन गर्दै एमाले केन्द्रीय सदस्यसमेत रहेका उम्मेदवार पाण्डेले वास्तविक ‘जेनेरेसन–जी’को भावना कदर गर्ने पार्टी एमाले भएको दाबी गरे। उनले निर्धक्क भएर सूर्य चिन्हमा मतदान गर्न मतदातालाई आग्रह गरे।
वागमती प्रदेश सरकारमा मन्त्री हुँदा आफूले गरेका विकास निर्माणका कामका आधारमा जनताले आफूलाई वास्तविक प्रतिनिधिका रूपमा मूल्याङ्कन गर्ने विश्वास व्यक्त गर्दै पाण्डेले केही ‘टुरिष्ट उम्मेदवार’का हावादारी गफमा नपर्नसमेत आग्रह गरे।
कार्यक्रममा एमाले केन्द्रीय सदस्य विन्दा ढुङ्गाना, पूर्व सांसद नारायणप्रसाद खतिवडा र पूर्व मन्त्री महेन्द्रबहादुर पाण्डेलगायतले सम्बोधन गरेका थिए।

