गगन थापा आज नुवाकोटमा, चुनावी सभालाई सम्बोधन गर्ने



नुवाकोट,फागुन १७— नेपाली कांग्रेसका सभापति गगन थापा आज नुवाकोट आउने भएका छन्। कांग्रेस निर्वाचन परिचालन कमिटीका अनुसार सभापति थापा दिउँसो १२:१५ बजे छोटो समयका लागि नुवाकोट आइ चुनावी सभालाई सम्बोधन गरी फर्किने कार्यक्रम तय गरिएको छ।

सभा विदुरको बट्टार हावाघरमा आयोजना हुने जनाइएको छ। कार्यक्रममा कांग्रेसका सहमहामन्त्री बहादुर सिंह लामा, नेता अर्जुननरसिंह केसी, प्रतिनिधिसभा उम्मेदवार डा. प्रकाशशरण महत, जगदीश्वरनरसिंह केसी तथा केन्द्रीय सदस्यसहितका नेताहरूको सहभागिता रहने बताइएको छ।

जिल्लाका दुवै निर्वाचन क्षेत्रका उम्मेदवारहरूको संयुक्त आयोजनामा हुने उक्त सभाका लागि कांग्रेसले जिल्लाभरिका सबै पालिकाबाट कार्यकर्ता उतार्ने तयारी गरेको जनाएको छ। कार्यक्रममा करिब १० हजारभन्दा बढी कार्यकर्ता तथा समर्थक सहभागी गराउने दाबी गरिएको छ।

कांग्रेस नुवाकोटले सभालाई भव्य र प्रभावशाली बनाउने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। फागुन २१ गते हुने निर्वाचनका लागि आजको सभा अन्तिम चुनावी कार्यक्रम हो। १८ गते बुधबार राति १२ बजेदेखि मौन अवधि सुरु हुने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्